सिन्धुली समाचारदाता
भिमान (सिन्धुली), जेठ १३ गते । निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्गको मिलनविन्दु भिमानमा निर्माण गरिएको डबल लेनको टर्मिनलसहितको उक्त बसपार्क हस्तान्तरण नहुँदा सञ्चालनमा नआउँदै भत्किएर लथालिङ्ग बन्दै गएको छ । निर्माणमा संलग्न सहरी विकास तथा भवन कार्यालयले उक्त बसपार्क हस्तान्तरण गर्न खोजिरहे पनि प्रव्रिmया नमिलेको भन्दै नगरपालिकाले बुझ्न मानिरहेको छैन । बसपार्क सञ्चालनमा नआउँदा निर्माण गरिएका संरचना भत्किएर जीर्ण बन्दै गएको र झारबुट्टा पलाएर बसपार्क कुरूप बनेको भिमानका बासिन्दा बलराम घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “बनाउन लगाउने र बनाउनेको केमा कुरा नमिलेको हो, हामी पनि अन्योलमा छौँ ।”
सहरीकरण हुँदै गरेको भिमानमा बसपार्क निर्माण सुरु गर्दा उत्साहित भिमानवासी अहिले निराश बनेका उहाँको भनाइ छ । बसपार्क निर्माण सम्पन्न भएको भन्दै सहरी विकास तथा भवन कार्यालयले विसं २०८० असोजमा तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ल्याएर उद्घाटनसमेत गरेको थियो । उक्त कार्यालयका अनुसार एकै दिन बसपार्क हस्तान्तरण र उद्घाटन गर्ने कार्यव्रmम थियो । त्यो दिन नगरपालिकाका प्रमुख अनुपस्थित भएपछि बसपार्क हस्तान्तरण नगरी उद्घाटन मात्र गरिएको हो । आव २०७७÷७८ को फागुनमा आत्रेय श्रीकृष्ण जेभीले ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु गरेको थियो । बसपार्कमा प्रतीक्षालय, खानेपानी, टिकट काउन्टर, ग्यारेज, फूलबारी, कार्यालय, कर्मचारीका लागि आवास, अशक्तका लागि आराम कक्ष, सर्भिस गर्ने ठाउँ, सौर्यबत्ती, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा विश्वकर्मा बाबाको मन्दिरसहित भौतिक संरचना निर्माण भएका छन् ।
कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बसपार्कको निर्माण लागत चार करोड ३६ लाख ४१ हजार ४१६ रुपियाँ रहेको जानकारी दिनुभयो । उक्त बसपार्कमा सानाठुला गरी कम्तीमा पनि एक सय सवारीसाधन पार्किङ गर्ने सुविधा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क हस्तान्तरणको पत्र नगरपालिकालाई करिब दुई वर्षअघि नै पठाइसकेका छौँ । त्यसपछि नगरपालिकामा दुई जना कार्यालय प्रमुख फेरिइसके तर अहिलेसम्म उताबाट बसपार्क बुझेको पत्र आएको छैन ।” बसपार्क निर्माण सम्पन्न भएपछि ठेकेदारले मर्मत गर्ने समय अवधि सकिसकेको र अब रेखदेख गर्ने नहुँदा टुटफुट आउन थाल्ने उहाँको भनाइ छ । “ठेकेदारले हामीलाई बुझाइसक्यो, उता बुझ्न मानिरहेका छैनन्,” उहाँले थप्नुभयो, “नगरप्रमुख बुझ्न तयार हुनुहुन्छ तर कर्मचारीले साथ दिएका छैनन् ।”
कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले भत्केका र बिग्रेका संरचना पुनः मर्मत नगरेकाले बसपार्क हस्तान्तरण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भत्केका र बिग्रेका संरचना नबनाई हस्तान्तरण हुन लागेको थियो । पहिला त्यो सबै मर्मत गरी जस्ताको तस्तै बनाउनु प¥यो, अनि मात्र बुझ्छौँ भनेको हो तर अहिलेसम्म बनाएको छैन ।” त्यतिबेलाका बत्ती छ महिना पनि नबली बिग्रेका, भवनको झ्यालढोकामा समस्या रहेको, पेटी भत्किएको अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । भिमान हुँदै निर्माण भएको बिपी राजमार्ग र मदन भण्डारी राजमार्गमा यातायातको चापसँगै अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दो थियो । त्यही जोखिम न्यूनीकरण गर्न बसपार्क निर्माण गरेको यातायात व्यवसायीको भनाइ छ ।