• २४ जेठ २०८२, शनिबार

राजमार्गको स्तरवृद्धि सुस्त

blog

राप्ती राजमार्ग बन्द हुँदा गाडी गुड्ने साँघुरो र जोखिमयुक्त वैकल्पिक मोटरबाटो ।

शङ्कर केसी

शारदा (सल्यान), जेठ १३ गते । राप्ती राजमार्गको दाङ–सल्यान खण्ड यस क्षेत्रको महत्वपूर्ण जीवनरेखा हो तर यो सडकखण्ड समयमै मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा यात्रु तथा स्थानीयलाई सास्ती भइरहेको छ । 

सडक डिभिजन कार्यालय दाङका अनुसार राप्ती राजमार्गको १३६ किलोमिटर स्तरोन्नति गर्नुपर्ने भए पनि हाल चार ठाउँमा मात्रै करिब साढे १० किलोमिटर स्तरवृद्धिका लागि ठेक्का लागेको छ । कपुरकोट, राम्री, तुलसीपुर सडकखण्डमा स्तरवृद्धि र कालोपत्रेका लागि पटक पटक सवारी आवागमन बन्द गरेर निर्माणको काम हुने गरेको छ । 

सडक डिभिजन तथा जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर राप्ती राजमार्ग बन्द गर्दै वैकल्पिक मोटरबाटो प्रयोगका लागि आग्रह गर्ने गरेका छन् तर वैकल्पिक मार्ग नै जीर्ण, अपूरो र झन् जोखिमपूर्ण छ । साना सवारीसाधन र यात्रुलाई पैयाखोरिया–सातबास–लामीडाँडा–किमुचौर–कपुरकोट हुँदै जानका लागि वैकल्पिक मार्ग देखाउने गरिएको छ । यस मोटरबाटोमा कहिल्यै मर्मत नहुने, खाल्टाखुल्टी, भिरपाखा र बगरको बाटोमा यात्रा गर्नु जोखिमपूर्ण भएको यात्रु तथा सरोकारवालाको भनाइ छ । 

सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर दीपेन्द्रबहादुर विष्टले आफ्नो कार्यालयले राष्ट्रिय राजमार्गभन्दा अन्यत्र हात हाल्न नमिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अन्य बाटोका लागि रातो किताबमा बजेट तथा कार्यक्रम हुँदैन । वैकल्पिक बाटो बनाउन प्रस्ताव पनि गरिँदैन । मर्मतसम्भारको योजना बनाउँदा पनि राष्ट्रिय राजमार्गको मात्रै प्रस्ताव गर्छौं ।” राप्ती राजमार्गको मर्मत र स्तरोन्नति कार्य बेलैमा, योजना अनुसार नहुँदा यात्रुले बर्सौंदेखि सास्ती बेहोर्दै आउनु परेको छ । वैकल्पिक बाटोको समेत मर्मत र स्तरोन्नतिमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको गम्भीर ध्यान जान नसक्दा समस्या थपिँदै गएको स्थानीयको भनाइ छ । 

यता जिल्ला प्रशासन कार्यालय सल्यानले भने वैकल्पिक मार्गको जटिल स्थानमा मर्मतका लागि सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको जनाएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले भन्नुभयो, “मोड फराकिलो र अप्ठेरो ठाउँमा सहज बनाउन निर्माण व्यवसायीलाई भनेको हो, सुरुको सर्त त्यही पनि हो ।” तर वैकल्पिक मार्गमा कुनै पनि मर्मतसम्भारको काम निर्माण व्यवसायीबाट नभएको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काले बताउनुभयो । कपुरकोट–पाखापानी–सातबास र किमुचौर–लामीडाँडा–सातबास मोटरबाटोको स्तरोन्नतिका लागि गाउँपालिकाले समेत प्राथमिकतासाथ काम गर्न सकेको छैन । यो वर्ष झन् यसका लागि कुनै बजेट छैन । सङ्घीय सरकारसमक्ष माग गरिए पनि बजेट विनियोजन नभएको वडाध्यक्ष खड्काको भनाइ छ । 

राप्ती राजमार्ग अन्तर्गतको अमेलिया–तुलसीपुर–शीतलपाटी–खौलाबास सडकखण्डका ठाउँ ठाउँमा सडक निकै जीर्ण अवस्थामा छ । स्तरवृद्धि र कालोपत्रे गर्नुपर्ने कुल १३६ किलोमिटरमध्ये करिब साढे १० किलोमिटरको कामका लागि मात्रै ठेक्का लागेको छ । यस सडकखण्डको सोलावाङ, बाङ्गेलाकुरी, जलेखर्क, सिमखोली, खौलाबास क्षेत्रमा सडक जीर्ण, खाल्टाखुल्टीले भरिएको र बारम्बार अवरुद्ध हुने अवस्था छ । सडक डिभिजन कार्यालय दाङका अनुसार बजेट अभावमा बाँकी क्षेत्रमा ठेक्का लाग्न सकेको छैन । 

बागचौर–रागेचौरको चार किलोमिटर, सम्धीमोड–खारखोला र हर्नेटी–राम्रीको करिब साढे १० किलोमिटर र कपुरकोट–राम्रीको चार किलोमिटर कामका लागि ठेक्का लागेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्टले भन्नुभयो, “अन्य क्षेत्रको सडकको अवस्था नाजुक र दयनीय छ । तर पनि बजेट अभावका कारण काम नै गर्न सकिएको छैन । राज्यको ढुकुटीमा पैसा नै छैन भन्छन् ।”