• २२ असार २०८१, शनिबार

तमोर आयोजनाबाट स्थानीय उत्साही

blog

ठाकुर सेनेहाङ 

तेह्रथुम, जेठ २९ गते । पूर्वको तमोर नदीमा बन्ने भनिएको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माणको लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साही छन् । राष्ट्रिय गौरवको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना ७६२ मेगावाट विद्युत् उत्पादन क्षमताको हुनेछ । आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।

लगानीको टुङ्गो लागेपछि आयोजना बन्ने निश्चितभएको र यसले पहाडका चारवटै जिल्लामा विकासको ढोका खुलेको म्याङ्लुङ नगरपालिका–२ का बलदेव लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाबाट विद्युत्को अलावा लिफ्टिङ प्रणालीमार्फत सिँचाइ तथा खानेपानी सुविधासमेत लिन सकिन्छ” ।

प्राधिकरणले गरेको पछिल्लो अध्ययनले पाँचथरको कुम्मायक गाउँपालिका–५, स्यावरुम्बा, भाङटार, जोरामौरे र तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौ ढुङ्गेबीचमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने देखाएको छ ।

आयोजना निर्माणपछि चारवटै जिल्लाको कृषि, पर्यटन, जलविद्युत् र पर्यावरण संरक्षणमा सहयोग पुग्ने देखिन्छ । आयोजना सुरु भएपछि स्थानीयस्तरमै रोजगारी र विकासका अवसर सिर्जना हुने म्याङ्लुङ नगरपालिका–२ का अध्यक्ष हेमराज तुम्बाहाङ्फेले बताउनुभयो ।

“तमोर जलाशय बहुउद्देश्यीय आयोजना हामी केही जिल्लावासीको मात्र होइन” उहाँले भन्नुभयो, “यो आयोजना सञ्चालन हुनु प्रदेश १ हुँदै नेपालकै आर्थिक समृद्धिको ढोका खुल्नु पनि हो” ।दुई सय मिटर उचाइको बाँध बनाएर ७६२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने यो आयोजना निर्माण गर्न एक खर्ब ५० अर्ब रुपियाँ बजेट लाग्ने सरकारको अनुमान छ ।