• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिममा अझै बनेन विपद् कार्ययोजना

blog

विपद् सम्बन्धी सूचना प्रवाहका लागि मन्त्रालयमा रहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र । तस्बिर : अविनाश चौधरी

धनगढी, जेठ २९ गते । यसवर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने भनिएको सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य योजना अझै तयार हुन सकेको छैन । 

नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले अझै विपद् प्रतिकार्य योजना तयार नपारेको हो । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशमा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने प्रक्षेपण गरेको छ । 

यो वर्षाले बाढी, पहिरो जस्ता समस्या निम्त्याउन सक्ने भन्दै मौसम पूर्वाणुमान महाशाखाले सतर्क गराएको छ । तर, सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म न विपत प्रतिकार्य योजना निर्माण गरिएको छ, न त पूर्व तयारी नै । यद्यपि, कार्ययोजना बनाउनका लागि सुरसार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिवमा विश्वदीप बेस्राको संयोजकत्वमा रहेको मनसुन पूर्व तयारी तथा प्रति–कार्ययोजना मस्यौदा समितिले मनसुन विपद् प्रति कार्ययोजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । सो समितिमार्फत विभिन्न सरोकारवाला निकायसँग तीनवटा छलफल कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ ।  

सम्भवतः असार १० गतेसम्म विपद् प्रतिकार्य योजना तयार हुने मस्यौदा समितिका संयोजकसमेत रहनु भएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव बेस्राले बताउनुभयो । ‘विपद् प्रतिकार्य कार्ययोजनाको मस्यौदा तयार पार्नका लागि काम अगाडि बढाइएको छ’, उहाँले भन्नुभयो । ‘अलिकति ढिलो भए पनि असार १० गतेभित्र कार्ययोजना तयार पार्छौँ’, 

प्रदेश सरकारले प्रत्येक वर्ष कार्ययोजनाको आधारमा पूर्व तयारी, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, व्यवस्थापन लगायतका कार्य गर्दै आएको छ । कार्ययोजना तयार नभए पनि यस वर्ष पनि जोखिम न्यूनीकरण, खोज तथा उद्धारका लागि भएका स्रोत साधनको यकिन गर्ने र त्यसलाई परिचालन गर्ने सवालमा छलफल भइरहेको जनाइएको छ । 

विपद्को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, स्थानीय तह, जिल्लास्थित विपद् व्यवस्थापन समितिसंगसमेत छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

मौसम पूर्वाणुमान महाशाखाको सूचनालाई आधार मानेर सुदूरपश्चिम प्रदेश सरकारले यसवर्ष पनि गतविगतझैं नदी तटीय क्षेत्रमा नै बढी जोखिम हुने जनाएको छ । यस वर्ष मनसुनमा पहाडी केही जिल्लासहित कैलाली, कञ्चनपुरमा औसतभन्दा बढी वर्षा हुने मौसम पर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्रसहित कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिकामा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान छ । यसैगरी, कैलालीकै गोदावरी नगरपालिकाको केही क्षेत्र र जोशीपुर नगरपालिकाको केही क्षेत्रमा भनि औसतभन्दा बढी वर्षा हुने जनाइएको छ । औसतभन्दा बढी वर्षा हुने स्थानीय तहहरु कैलालीका सबैभन्दा बढी बाढी, डुबान समस्या हुने पालिकाहरु हुन । 

गतवर्ष कात्तिकमा भएको बेमौसमी वर्षाले यो प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । सोही वर्ष बर्खामा बाढी, पहिरोले पनि धनजनको क्षति गरेको थियो । प्राकृतिक विपद्मा परेर चालू आर्थिक वर्षको हालसम्म प्रदेशभरि ५५ जनाले ज्यान गुमाइसकेका छन् ।  

गतविगतको विपद्बाट शिक्षा लिएर यसवर्ष विपद् न्यूनीकरणका लागि अगाडि बढ्नु पर्ने विज्ञहरुको सुझाव छ । सरकारले पूर्व सूचना प्रणालीलाईमात्रै बलियो बनाएमा धेरै हद्सम्म जोखिम कम गर्न सकिने जलवायु र विपद्बारे जानकार डा. धर्मराज उप्रेतीको भनाइ छ । तर, विपद् व्यवस्थापनको सबै चक्रहरुमा काम नगरेसम्म जोखिम कम गर्न समस्या रहिरहने उहाँको बुझाइ छ । 

यसैबीच, सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाको विपद् सम्बन्धी सूचना सङ्कलन र प्रवाहका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । यो वर्षबाट कार्य सञ्चालन केन्द्रलाई थप व्यवस्थित गर्ने जनाइएको छ । 

Author

अविनाश चौधरी