काठमाडौँ, जेठ १२ गते । होटेल क्षेत्रमा अर्बौँ लगानी भए पनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटेल क्षेत्र ठुलो मारमा परेको छ । होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौँ लगानी भएका होटेलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो ।
आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटेल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताउनु भयो । अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिन सक्ने क्षमता छ । तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ । उहाँकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरू राम्रो देखिन्छ । व्यवसायीहरूले अनुभूति गर्ने भनेको आन्तरिक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रूपमा देखिँदैन ।
कुराकानी गर्ने क्रममा अध्यक्ष शाहले भन्नुभयो– ‘नेपालमा सम्भावना नभएको जसरी कतिपय भाष्य सिर्जना गर्न खोजिएको छ । सम्भावना हुँदाहुँदै होटेलहरुले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौँ लगानी भएका होटेलहरु खोलिएको छ । नेपालमा सम्भावनाहरू छ भन्ने देखाएको हो । यहाँ सम्भावना छ, छैन भन्ने होइन भन्ने भाष्यलाई होटेल क्षेत्रले चिर्न सफल भएको छ । छाेटो समयमा धेरै आर्थिक वृद्धिदर गरेका देशहरूको माझमा नेपाल छ । ती देशमा त्यस्तो राम्रो प्रगति भइरहँदा नेपाल किन पछि पर्छ भन्ने कुराहरू गम्भीर छन् । यसलाई सम्बोधन गर्ने खालले बजेट आउनुपर्छ । हाम्रा एयरपोर्टहरू बनेका छन् तर सुचारु नहुनु, बाटोघाटाको समयमै स्तरोन्नति नहुनु समस्याका रूपमा देखा परेका छन् । यसले गर्दा आउनु पने पर्यटक पनि ल्याउन कठिन भइरहेको छ । अहिले हस्पिटालीटि क्षेत्र क्षमताको एक तिहाइ मात्रै प्रयोग भइरहेको छ । यसले देशलाई, लगानीकर्ताहरूलाई निराश बनाएको छ । जुन प्रतिफल पाउनुपर्थ्यो त्यो पाउन सकिएको छैन ।
अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरू राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । बजेटले अहिलेको मूलभूत समस्या भनेको कनेक्टिभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरू वर्षौँदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समय सीमा नै तोकेर ती राजमार्गहरू स्तरोन्नति गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष साहकाअनुसार यस्ता कुराहरूलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरूको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो । अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसाबले हेर्नुपर्छ । पूर्वाधार निर्माणमा सरकारी निकायबिच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताउनु भयो । अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई द्रुत रूपमा पूर्ण सञ्चालनमा ल्याउने गरी सरकार लाग्नुपर्ने बताउनुभएको छ । उहाँकाअनुसार त्यसो भ भयो भने एक वर्षमा पर्यटकको सङ्ख्या दोब्बर गर्न सकिन्छ । त्यतातिर बजेट केन्द्रित हुनुपर्छ ।
शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ । औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन । त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ । राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटेलहरु र अनौपचारिक क्षेत्रका होटेलहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यो कुरालाई बजेटले हेर्नुपर्छ ।
अहिले देशमा तीन तहका सरकार भएकाले एक आपसमा समन्वयको खाँचो रहेको बताउँदै उहाँले निजी क्षेत्र बिच ती सरकारहरूले समन्वयन गर्न नसकेको समेत बताउनु भयो । अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभए अर्थ हुँदैन । विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइए पनि कार्यान्वयन भने हुन नसकेको उहाँको भनाइ छ । बजेटले यसपालि तोकेकोमध्ये १५—२० प्रतिशत मात्रै काम सुरु हुने र फत्ते नहुने गरेको साहाले बताउनु भयो । बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसाबले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उहाँको बुझाइ रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ ।
अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन । त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ । अहिले त्यस्ता चिजहरू नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ । व्यवसायीले ऋण लिएर साँवा व्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उहाँको भनाइ छ ।