बागलुङ समाचारदाता
बागलुङ, जेठ १२ गते । ट्र्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्रे भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट वञ्चित बनेका बागलुङ नगरपालिका–४, ढोडेनीवासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्र्याक खोलेको ओढारचौर–ढोडेनी सडक कालोपत्रे गरिएको हो ।
सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रेको काम सुरु गरिएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । साढे दुई किमी लम्बाइको सडकलाई आठदेखि १० मिटरसम्म चौडा बनाइएको र साढे पाँच मिटरमा कालोपत्रे गरिने छ ।
सहरी शासकीय तथा पूर्वाधार सुधार कार्यक्रममार्फत तरकारी उत्पादनको गाउँ भनेर परिचित ढोडेनी कालोपत्रे सडकले जोडिएको हो । तरकारी र दुध उत्पादन गरे पनि जीर्ण सडकबाट समयमै बजार पठाउन नसक्दा निराश किसानमा सडक कालोपत्रे भएपछि सहज आवतजावत र कृषि उपज ढुवानीमा राहत मिल्ने भएपछि खुसियाली छाएको छ । स्थानीयले गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेमप्रसाद आचार्यले विगत कोट्याउनुभयो ।
तत्कालीन जिल्ला विकास समितिको पाँच लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको बाटो स्तरोन्नतिसहित कालोपत्रे भएकाले ढोडेनीवासी दङ्ग भएका छन् । यो सडक कालोपत्रे भएपछि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुङ्गा हुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको ढोडेनीका स्थानीय जीवानन्द सापकोटाले बताउनुभयो ।
पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले तरकारी, फलफूल र दुध म्याग्दीको बेनी, पर्वतको कुस्मा र बागलुङ बजारमा बिक्री गर्छन् । सडक कालोपत्रे भएपछि धेरै फाइदा पुग्ने लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भन्नुभयो ।