• २४ जेठ २०८२, शनिबार

हराउँदै परम्परागत माटाका घर

blog

माटाको छानो भएका मनाङका घर ।

यदुप्रसाद भट्ट

मनाङ, जेठ १२ गते । माटाका छाना भएका मनाङका परम्परागत घरहरू हराउँदै गएका छन् । रैथाने सिप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको असरको चेपुवामा पर्न थालेका छन् । 

मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छत भिजेर चुहिन थालेका छन् । विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीका घर वर्षाका कारण नासिने क्रममा रहेका गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताउनुभयो ।

सदरमुकाम चामेमा पुराना परम्परागत घर देखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै लैजाँदा नासोँ तथा चामे गाउँपालिकामा धेरै जसो घर पक्की स्वरूपमा निर्माण भएका छन् तर मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ । आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेको भन्दै स्थानीयले चिन्तासमेत व्यक्त गरेका छन् । 

एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक सांस्कृतिक धरोहरू नष्ट हुने, रैथाने सिप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानिनोक्सानी पुग्न थालेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर पर्न थालेको छ । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुन थालेको छ । 

नार्पाभूमिका अध्यक्ष लामाले थप्नुभयो, “मनाङमा आउने विदेशी पर्यटक प्राकृतिक सुन्दरता हेर्न मात्र हैन, यहाँको जीवनशैली अध्ययन गर्न पनि आउँछन् । हामीले मनाङीको संस्कृति जोगाउन पनि यी मौलिक पहिचान भएका गुम्बा, छोर्तेन, माटाका घर आदिको संरक्षण गर्नु पर्छ ।” उहाँले नार्पा जातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबत्ततासमेत व्यक्त गर्नुभयो । 

नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेनहरू देख्न पाइन्छ । यी परम्परागत गुम्बा छोर्तेन यहाँका सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा छोर्तेन तथा माटाका घरहरूको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् । 

बाक्लो गारो भएको माटोका घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन तर आधुनिकता छुँदै गर्दा पक्की घरहरू बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुने गरेको स्थानीयले बताएका छन् । माटोले बनेका घरहरूले तातो चिसो सोसेर राख्छ, जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुने यहाँका बासिन्दाको भनाइ छ ।