बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ १२ गते । गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्डको मर्मत कार्य सुरु गरिएको छ । यो वर्षको बर्सात नजिकिएसँगै मध्यपहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न स्थानमा बाढीपहिरोबाट क्षति पुगेको सडक मर्मत गर्न थालेको हो ।
यही जेठ महिनाको पहिलो साता निर्माण कम्पनी सहयोगी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त सडकको मर्मत प्रारम्भ गरेको सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सहयोगी कन्स्ट्रक्सनले भ्याटसहित करिब १० करोड रुपियाँमा सडक मर्मतका लागि सम्झौता गरेर काम सुरु गरेको जनाएको छ । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा गत वर्षको बाढीपहिरोबाट एक दर्जनभन्दा बढी स्थानमा क्षतिग्रस्त बनेको छ । अहिले गोलन्जोर गाउँपालिकाको बलेनी, मुर्कीबेँसी र फिक्कल गाउँपालिकाको घुर्मीनजिक सडक मर्मतको काम थालिएको छ । मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापका डिभिजन इन्जिनियर विदुर पौडेलले वर्षाअघि काम गर्नैपर्ने ठाउँमा सडकको मर्मत सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त निर्माण कम्पनीको ठेक्का अवधि असार २५ गतेसम्म रहेको छ । वर्षाअघि नै सडक सजिलो होस् भन्ने हाम्रो अपेक्षा हो ।”
निर्माण कम्पनीले तोकिएको समयावधिमा काम सक्ने गरी परिचालन हुने भनेकोले सम्झौता गरी कामको जिम्मेवारी दिएको उहाँको भनाइ छ । नेपालको पूर्वीपहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने उक्त राजमार्ग गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त हुँदा यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । हालसम्म पुनर्निर्माण तथा स्तरोन्नति नहुँदा यात्रामा दुर्घटनाको जोखिम अधिक रहेको स्थानीयको भनाइ छ ।
उक्त सडकको कतिपय ठाउँमा सुनकोशी नदीको बाढीले नामोनिसान नै नरहने गरी जगसहित बगाएपछि अहिले काम चलाउ हुने गरी बगरबाट अस्थायी ट्र्याक निर्माण गरेर यातायात सञ्चालन भइरहेको छ । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उक्त पालिकामा सबैभन्दा बढी क्षति बलेनी र मुर्कीबेँसी क्षेत्रमा सडक नै सुनकोशी नदीमा खसेको छ ।
बाढीपहिरो गएको बेला प्रशासन र स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याएको थियो । कतिपय ठाउँमा सडकमा थुप्रिएको पहिरो अझै पन्छाउने काम नभएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।
उक्त सडकको हैबारमा पर्ने सुक्खा पहिरो सवारीसाधनका लागि सबैभन्दा ठुलो जोखिम बनेको छ । “उक्त पहिरो सुक्खा तथा वर्षाको मौसममा पनि पहिरो झरिरहने भएकाले घण्टौँसम्म सडक अवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो । सडक मर्मत कार्यमा संलग्न सहयोगी कन्स्ट्रक्सनका ठेकेदार पुष्करराज शिवाकोटीका अनुसार बाढीपहिरोबाट उक्त खण्डमा धेरै ठाउँमा भत्किएको छ । अहिले जहाँ अत्यावश्यक छ, त्यहाँ मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “वर्षामा नचल्ने ठाउँमा तत्काल बनाएर गाडी नरोकिने बनाउन लागिएको हो ।”