• २० असार २०८२, शुक्रबार

राष्ट्रिय परिचयपत्र बनाउने बढे

blog

फाइल तस्बिर

तम्घास समाचारदाता

तम्घास (गुल्मी), जेठ १२ गते ।  पछिल्लो समय सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत १५ दिनको अवधिमा एक हजार १०२ जनाले परिचयपत्रका लागि आवेदन दिएका छन् । गैरेले बैङ्कमा खाता खोल्दा र सामाजिक सुरक्षा भत्ता लिनका लागि परिचयपत्र अनिवार्य गरेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । सेवाग्राही सरिता खरेलले बैङ्कमा खाता खोल्दा पनि परिचयपत्र अनिवार्य भनेकाले आफू परिचयपत्र बनाउन प्रशासन आएको बताउनुभयो । 

राहदानी बनाउने पनि बढे

गत १५ दिनमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा ३६९ जनाले राहदानीका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी बनाउनेमा बढी युवा रहेका छन् ।

कक्षा १२ पास गरी नागरिकता बनाउन आउँदा सँगै राहदानी पनि बनाउने गरेको उहाँको भनाइ छ । यसका साथै श्रीमान् विदेशमा हुनेका श्रीमती र नाबालकले पनि राहदानी बनाउने गरेका छन् । त्यससँगै पहिलेका पुराना राहदानीको समयावधि सकिएर नवीकरणका लागि केही व्यक्ति आउने गरेको प्रशासनले जनाएको छ ।

पछिल्लो १५ दिनको अवधिमा ४८६ जनाले नयाँ नागरिकता बनाउँदा ३६९ जनाले प्रतिलिपि बनाएका छन् । नागरिकले नागरिकतालाई वास्ता नगर्ने, जथाभाबी फ्याँक्ने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ । प्रजिअ गैरेले पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकोमा श्रीमान्श्रीमती र बाबुआमाको नाम नमिल्ने कारण पनि अर्को रहेको बताउनुभयो ।  

उहाँले सोही समयावधिमा नाबालक परिचयपत्र ३५, राहदानी आवेदन सङ्कलन ३६९, राहदानी वितरण ३५५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन एक हजार १०२, परिचयपत्र वितरण ८२४ र ८४ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मीले यो समयमा राहदानीबाट २१ लाख दुई हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ । यसका साथै संस्था दर्ता र नवीकरणबाट नौ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।