छिन्चु समाचारदाता
सुर्खेत, जेठ १२ गते । सुर्खेतको मूलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडक शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार सो सडकको शिलान्यास गर्नुभएको हो । शिलान्याससँगै वीरेन्द्रनगरलाई बर्दियासँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्नतिको काम सुरु हुने बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री कँडेलले पहिलो खण्ड स्तरोन्नतिको शिलान्यास भएसँगै दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताउनुभयो । नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उहाँले यो सडक चाँडै पूर्णता पाउने आफूले विश्वास लिएको बताउनुभयो ।
यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकारअघि बढेको उहाँले बताउनुभयो । तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले तोकिएकै समयमा काम सम्पन्न गर्न स्थानीयको साथ अनिवार्य रहेको भन्दै वडा र पालिकाको पनि महìवपूर्ण सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो । यो सडक बनाउन पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेका प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रुपियाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिको कामका लागि ठेका आह्वान गरेको थियो ।
कुल १० किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माणको काम थालनी भएको हो । आगामी २०८३ पुस ३० मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार ८५१ रुपियाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबिच सम्झौता भई काम अघि बढेको हो ।
आर्थिक वर्ष २०७६/७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ तर प्रगति भने निराशाजनक छ । आव २०७६/७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलो खण्ड अन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ पुस ९ गते पूर्वाधार निर्देशनालय र श्याम एन्ड शङ्कर कन्स्ट्रक्सनबिच १० करोड २६ लाख ६१ हजार रुपियाँमा ठेका सम्झौता
भएको थियो । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । २०८० मङ्सिर १३ सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्रे भएको छ ।