• १९ असार २०८२, बिहिबार

शैक्षिक गुणस्तर सुधार्न छलफल

blog

शैक्षिक भेलामा सहभागी शिक्षक तथा अभिभावक । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), जेठ १२ गते । जुम्लाको तिला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शैक्षिक भेला गरेको छ । 

पालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग शनिबार भेलाको आयोजना गरी शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीले जानकारी दिनुभयो ।

छलफलले सम्पूर्ण सामुदायिक विद्यालयमा अनिवार्य शिक्षण योजना तथा शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्ने, शिक्षण गर्दा शिक्षकलाई जिम्मेवार बनाउनेलगायत विषयवस्तुमा गहन छलफल भएको शिक्षा शाखा प्रमुख खत्रीले बताउनुभयो । पालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । आगामी दिनमा समग्र शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन पालिकाले बृहत् छलफल गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । विद्यालयमा देखिएका जीर्ण भवन स्तरोन्नति गर्ने, खेल प्रशिक्षक राखेर किताबी ज्ञानसँगै खेल क्षेत्रमा पनि अघि बढाउन पालिकाले आवश्यक कदम चाल्ने, अनुगमनलाई बाहिरी रूपमा मात्रै नभई सूक्ष्म रूपमा गर्ने, आर्थिक अवस्था न्यून भएकै कारण पढाइबाट वञ्चित हुने अवस्था अन्त्य गर्नका लागि पालिकाले शीघ्र रूपमा आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । 

शिक्षक एक्लैले मात्रै शैक्षिक गुणस्तर सुधार्न सम्भव नभएकाले सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पेसागत शिक्षक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष शिवप्रसाद पाण्डेलगायतले शैक्षिक गुणस्तरमा सुधार ल्याउन सके मात्रै अन्य क्षेत्र सुधार हुने कुरामा जोड दिनुभयो ।