धनगढी समाचारदाता
धनगढी, जेठ १२ गते । कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । कुल ९५.७ किलोमिटर सडकमा सात वटा प्याकेज बनाएर स्तरोन्नतिको काम धमाधम अगाडि बढेको छ । त्यसमध्ये ६८ किलोमिटर स्तरोन्नतिको काम सकिएको छ । धनगढी–सत्ती खण्डको दुई वटा प्याकेजमा कालोपत्रेको काम पूरा भइसकेको र तेस्रो प्याकेजमा पनि चालु आर्थिक वर्षभित्रै काम सकिने हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर गणेशबहादुर बुढाले बताउनुभयो ।
तेस्रो प्याकेजको कैलारी गाउँपालिकास्थित हसुलिया क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ । धनगढीको क्याम्पस रोडदेखि कैलारीको सुर्मिनालासम्म कालोपत्रे गर्ने काम सकिएको छ । निर्माण कम्पनी स्वछन्द जोशी जेभीले यस खण्डमा ठेक्का पाएको थियो । भजनीको ठेकीपुर पुलदेखि चौथो प्याकेजमा भने अहिलेसम्म कुनै पनि काम सुरु भएको छैन । अर्को वर्ष मात्रै यो खण्डमा काम हुने सम्भावना रहेको जनाइएको छ । ठेकीपुरदेखिको खण्डमा काम गर्नका लागि कालिका–जोशी जेभीले ठेक्का पाएको छ । पूर्वपश्चिम जोड्ने सत्ती–भजनी–धनगढी हुलाकी राजमार्ग ६६ किलोमिटर रहेकोमा हालसम्म ५०.५ किलोमिटरमा काम पूरा भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
यसै गरी उत्तर–दक्षिण जोड्ने लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर हुलाकी राजमार्गमा आधाभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म १७.५ किलोमिटरमा कालोपत्रेको काम भइसकेको छ । अन्तिम प्याकेजमा पनि बेस, सबबेस निर्माणको काम भइरहेको इन्जिनियर बुढाले जानकारी दिनुभयो । लम्की–टीकापुर–खक्रौला जोड्ने राजमार्गको पहिलो खण्डमा स्तरोन्नतिको काम सकिएको छ । दोस्रो खण्डमा काम जारी रहेको जनाइएको छ । आठ किलोमिटर रहेको पहिलो प्याकेजको ठेक्का ४० करोड १९ लाख रुपियाँमा कालिका–कुमार जेभीले पाएको थियो ।
त्यस्तै टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजमा बेस, सबबेस निर्माणको काम भइरहेको छ । ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले तेस्रो खण्डको ठेक्का पाएको छ । चालु आवमा हुलाकी राजमार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट ३३ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । २१ करोड रुपियाँ गत आवको दायित्व भुक्तानीमै सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । सङ्घीय सरकारसँग थप माग गर्दा पठाइएको २२ करोड रुपियाँ पनि खर्च भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ । बजेट सकिए पनि निर्माण कम्पनीले काम जारी राखेकोले चालु आर्थिक वर्षभित्रै थप ३० करोड रुपियाँ बजेट चाहिने जनाइएको छ ।
राजमार्ग निर्माणको कार्य पूरा नभए पनि निर्माण कम्पनीका ठेक्का समयावधि सकिएका छन् । धेरै जसो निर्माण कम्पनीको समयावधि सकिएकाले म्याद थप गर्ने गृहकार्य भइरहेको इन्जिनियर बुढाले बताउनुभयो । उहाँले आगामी आवभित्र कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुग्ने उल्लेख गर्नुभयो ।