रोग लागेर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु जाती हुन्छ । जिउनका लागि हावा, पानी र खाद्यान्न नभई हुँदैन । आज हावा, पानी र खाद्यान्न तिनै चिज प्रदूषित छन् । मानवीय कारणले यी तिनै चिज अर्गानिक हुन छाडेपछि विभिन्न रोगलाग्ने गरेका छन् । उपचारका लागि प्राकृतिकदेखि आधुनिक उपचार पद्धति व्यापक रूपमा विस्तार भएको छ । केन्द्रदेखि स्थानीय तहसम्म सरकारी, निजी अस्पताल र स्वास्थ्य चौकी बनेका छन् । रोग पत्ता लगाउने अत्याधुनिक औजार उपकरणदेखि चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था छ । तैपनि रोगव्याधि बढ्दै गएको छ । यो सबैका लागि चिन्ताको विषय हो । गलत जीवनशैली र व्यवहार नै रोग लाग्नुको प्रमुख कारण हो । प्राकृतिक हिसाबले खानपिनमा सरल जीवनशैली र व्यवहार नअपनाउँदा समस्या बल्झिँदै गएको छ । उपचार खर्च महँगो छ ।
पछिल्लो समय थाइराइड रोगका बिरामी बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अङ्गलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ । चिकित्सकका अनुसार थाइराइड रोग चार किसिमका हुन्छन् । ती हुन् : थाइराइड ग्रन्थीमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म । यो रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रूपमा पनि यो रोगले सताउने गर्छ । रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थीमा सङ्क्रमण भएर यो रोग देखिन सक्छ । विभिन्न रसायन र अन्य कारणले वातावरणीय प्रदूषणले गर्दा पनि यो रोग लाग्ने गर्छ । लामो समयसम्म औषधीको प्रयोगले पनि मानिसमा थाइराइडको समस्या देखिने गर्छ । विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।
यो रोगले छोएपछि कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलाको महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुने र निःसन्तान समस्या देखिन सक्छ । थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ । यो रोगले खास गरी २० देखि ४० वर्ष उमेर समूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । हाइपर थाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । यो रोग पनि धेरै जसो प्रजनन उमेरका महिलामा देखिन्छ । हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान नै जोखिममा समेत पार्न सक्छ । त्यसैले यसको उपचार समयमै गरिहाल्नु पर्छ । औषधीको सेवनबाटै यो रोग निको हुन्छ । थाइराइड ग्रन्थीमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन तर त्यसका लागि चिकित्सकको निगरानीमा बसेर फलोअप गर्नु जरुरी हुन्छ किनभने कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ । केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए नभएको साधारण भिडियो एक्सरे र एफए इसी जाँचबाटै थाहा हुन्छ । रोग पहिचानपछि यसको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि पनि बिरामीले चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ । नेपालमा कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत थाइराइडबाट पीडित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ । चिकित्सकका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन । यो समस्या जटिल बन्दै गएको छ । त्यसैले रोग नपालौँ, रोग लागिहाल्यो भने समयमै उपचार गराएर निरोगी बनौँ ।