• ३० जेठ २०८२, शुक्रबार

प्रतिष्ठानद्वारा स्रष्टा पुरस्कृत

blog

काठमाडौँ, जेठ १२ गते । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मानबाट कवि रमेश खकुरेल  र समालोचक प्राडा गार्गी शर्मा (काठमाडौँ) लाई सम्मानित गर्नुभयो । 

श्रेष्ठले दायित्व वाङ्मय सम्मानबाट साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे (काठमाडौँ) र जीवनपानी (स्याङ्जा) लाई सम्मानित गर्नुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न समारोहमा पूर्वप्रधान न्यायाधीश श्रेष्ठले रामप्रसाद पन्तको संस्मरणसङ्ग्रह ‘उत्कृष्ट सत्ताइस स्रष्टा’ शीर्षकको कृति तथा दायित्व द्वैमासिकको १५२ पूर्णाङ्कको लोकार्पण गर्नुभयो ।

पूर्वप्रधान न्यायाधीश श्रेष्ठले साहित्यकार र पाठकबिच अन्योन्याश्रित सम्बन्ध रहने भन्नुहुँदै साहित्य विशिष्ट सेवा भएको बताउनुभयो । उहाँले निजीस्तरबाट लामो समयसम्म साहित्य सेवामा लागिरहनु सामान्य कुरा होइन, ठुलो त्यागले मात्रै यो सम्भव रहेको बताउनुभयो ।