शंकर केसी
सल्यान, जेठ ११ गते । सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सल्यानको रिमबाट दाङको तुल्सीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भएर आइतबार दुर्घटना भएको हो ।
सल्यानको वैकल्पिक बाटो कपुरकोट किमुचौर लामीडाँडा सातबाट खण्डको कपुरकोट, ३ लामिडाँडामा दुर्घटना भएको जिपमा १२ जना सवार थिए । जसमा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा कपुरकोट, ५ का ६२ वर्षीया भिमा बुढाथोकी, ६७ वर्षीया मन्जीता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, १५ वर्षीया सपना बुढाथोकी, ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा, ८ वर्षीया रोशनी महतारा, कपुरकोट, ४ निवासी ४६ वर्षीया सिता बुढाथोकी र वडा नं ६ निवासी ५५ वर्षीय गोरेलाल बोहरा रहेको बस्नेतले बताउनुभयो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
आइतबार बिहान करिव ११ः३० बजे दुर्घटनामा परेको जिप सडकबाट चार मिटर तल खसेको छ । गाडी चालक कपुरकोट, ५ बस्ने ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।