रमेश विश्वकर्मा
गुल्मी, जेठ ११ गते । गुल्मीको धुर्कोट गाउँपालिकाद्वारा आयोजित पाँचौा अध्यक्ष कप भलिबलको उपाधि धुर्कोट गाउँपालिका–३, हाडहाडेले जितेको छ । पाँचौँ अध्यक्ष कपको अवसरअन्तर्गत वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हाडहाडे प्रथम भएको हो ।
वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर–३, हाडहाडेले वडा नम्बर–२, पिपलधारालाई हराउँदै प्रथम भएको हो । प्रथम भएको हाडहाडेले ३० हजार नगदसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । द्वितीय भएको पिपलधाराले २५ हजार रुपियाँ नगद र तृतीय भएको वडा नम्बर–६, रजस्थलले २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको बताइएको छ ।
वडास्तरीय महिला भलिबल प्रतियोगितामा वडा नम्बर–७, वाग्लालाई हराउँदै वडा नम्बर–३, हाडहाडे प्रथम भएको हो । महिला भलिबल प्रतियोगिताअन्तर्गत प्रथम भएको हाडहाडेले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको वडा नम्बर–७, वाग्लाले १२ हजार नगद र तृतीय भएको वडा नम्बर–६, रजस्थलले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गाउँपालिकाका सातवटै वडाबाट पुरुष र महिला समूहको सहभागिता रहेको प्रतियोगिता धुर्कोट गाउँपालिकाको वडा नम्बर–४ जैसिथोकस्थित कालापोखरा खेलमैदानमा सम्पन्न भएको हो । खेलकुदको माध्यमबाट गाउँमा लुकेर रहेका प्रतिभा उजागरसंगै भलिबल खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।