• ११ जेठ २०८२, आइतबार

भलिबल तथा फुटबल प्रशिक्षण दिँदै रामपुर

blog

प्रशिक्षणको उट्घाटन गर्नुहुँदै नगर प्रमुख थापा । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), जेठ ११ गते । जिल्लाको रामपुर नगरपालिकामा बालबालिका तथा खेलाडीहरुलाई भलिबल तथा फुटबल प्रशिक्षण दिन सुरु गरिएको छ। ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लव तथा विद्यालयका खेलाडीलाई भलिबल प्रशिक्षण दिन थालिएको हो । 

प्रशिक्षणको माध्यम बाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ रामपुर नगरपालिकाले नगर खेलकुद विकास समिति मार्फत तालिम सञ्चालन गरेको हो । 

खेलकुदको विकासको लागि पूर्वाधार निर्माणसँगै प्रशिक्षण अपरिहार्य रहेकाले कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । उहाँले नगरभित्रका बालबालिकालाई सृजनशिल र लगनशिल बनाउन तथा उत्कृष्ट खेलाडी तयार गर्नु कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो । बालबालिकालाई समयमै प्रशिक्षण दिन सके मात्र भविष्यमा उत्कृष्ट नतिजा मार्फत समाज र देशलाई चिनाउन सक्ने बताउनुभयो । 

विद्यालय स्तरबाटै अन्य खेलको प्रशिक्षणका सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले फुटबल तर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबल तर्फ विभिन्न क्लव तथा विद्यालयका खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिनुभयो । 

भलिबल तथा फुटबल विद्यामा ३ सय जनालाई भलिबल तथा फुटबल नियमसँगै आवश्यक सीप प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । समितिले यसअघि १६० जना बालबालिकालाई कराँतेको प्रशिक्षण प्रदान गरेको थियो । 

विगतमा समितिले मेयरकप अन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएपनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिएको छ । भलिबल खेलाडीहरुलाई राष्ट्रिय भलिबल रेफ्री अनन्त प्रसाद श्रेष्ठले र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कशम मल्ल ठकुरी र गुन बहादुर राम्जालीले दिइरहनुभएको छ ।