काठमाडौँ, जेठ ११ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यकारी निर्देशक भट्टले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्यूनीकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गर्नुभयो । उहाँले विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।
‘‘यो भन्दा पहिला हामी स्वयंसेवक गठन गर्न र यो काम हामीले गरेका थिएनौँ । यो नयाँ काम हामीले गरिरहेका छौँ । विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुन्छ । विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ ।,’’ कार्यकारी निर्देशक भट्टले भन्नुभयो, ‘‘त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको सुरुवात गर्न खोजेका छौँ । ललितपुरबाट हामी यो सुरु गर्दैछौँ भने विस्तारै हामी सबै पालिकामा पुर्याउले लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौँ ।’’
उहाँले ललितपुर महानगरलालिकाबाट सुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्याइने बताउनुभयो ।