• २४ जेठ २०८२, शनिबार

ताकुकोट–हुँडीखोला सडक अनिश्चितकालका लागि बन्द

blog

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटदेखि हुँडीखोला जोड्ने सडक । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका         
सुलीकोट, जेठ ११ गते ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटदेखि हुँडीखोला जोड्ने सडक अनिश्चियतकालको लागि बन्द भएको छ । गाउँपालिकाले सडक कालोपत्रे गर्न भन्दै ताकुकोट–हुँडीखोलासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

‘‘उक्त सडकको चौडाई कम भएकाले पनि वैकल्पिक रुपमा डाइभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन,’’ गाउँपालिकाका अध्यक्ष भट्टले भन्नुभयो, ‘‘यस अवस्थामा सवारी आवगमनलाई पूर्ण रुपमा रोक्न नसकिएमा कालोपत्रे तयारी अवस्थामा रहेको सडक सतह बिग्रने, निर्माण कार्य अवरोध उत्पन्न हुने भएकाले सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको हो ।’’

गोरखा सडक योजना कार्यालय गोरखामार्फत २५ करोड रुपियाँ लागतमा ४ किलोमिटर सडक कालोपत्रे, ३ किलोमिटर ग्राबेल, १० हजार घनमिटर ग्याबिन जाली र नाली मर्मत गर्नुपर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल बारपाकबाट गाउँपालिकाको कार्यालयसम्म सडकमा सवारी आबगमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न वारपाक सुलीकोट गाउँपालिकाले आग्रह गरेको छ । 

उक्त सडक कालोपत्रेको समयमा सवारी आवातजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाई दिन भन्दै गोरखा सडक योजनाले पालिकालाई पत्र समेत गरेको गोरखा सडक योजना कार्यालयका सूचना अधिकारी आशिस रिजालले बताउनुभयो । सोही पत्रको आधारमा पालिकाले आइतबार एक सूचना जारी गर्दै कालोपत्रे सम्पन्न नभएसम्मका लागि सवारी आवतजावतमा पूर्ण रुपमा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृतद्वारा विज्ञाप्तिमा उल्लेख छ ।

गाउँपालिका बाटोका कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।