• २६ जेठ २०८२, सोमबार

‘स्थानीय तहले अवैध अस्पताल खुलाए’

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, जेठ ११ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाउनुभएको छ । 

सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा शनिबार जनमत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले स्थानीय तहले अवैध अस्पताल सञ्चालन गराएको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, “मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्डविपरीतका अस्पताल बन्द गराएँ तर स्थानीय तहले धमाधम खुल्न दिइरहेका छन् ।” जनमत पार्टीको नेतासमेत रहनुभएका मुख्यमन्त्री सिंहले अन्य पार्टीसँग मिलेर संयुक्त सरकार सञ्चालन गर्नुपर्दा अप्ठ्यारा झेल्नु परेको बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहलाई बरहथवा आएको अवसरमा वडा नं. १ का स्थानीयले बागमती नदीको खर्सालघाटमा तटबन्ध निर्माण गरिदिन माग राखेका छन् । मुख्यमन्त्री सिंहले उक्त तटबन्ध निर्माणको काम सङ्घीय सरकारले गरिरहेको उल्लेख गर्दै प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।