• १० जेठ २०८२, शनिबार

सर्वदलीय बैठकमा बजेट ल्याउने विषयमा छलफल

blog

सर्वदलीय बैठकका सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत नेता । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आह्वानमा आज सर्वदलीय बैठक बसेर आगामी बजेटबारे छलफल गरिएको छ ।  

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बैठक बसेको थियो । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरिएको थियो । यसैगरी, संसद् नियमित सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । 

बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन दलहरुलाई आग्रह गर्नु भएको थियो । संसद्लाई प्रभावकारी बनाउने र नागरिकको समस्या समाधान गरी परिणाममुखी नतिजा दिन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । 

बैठककमा आर्थिक मामिलामन्त्री सुरेन्द्र पाल, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा (एमाले) का प्रमुख सचेतक चक्रबहादुर मल्लको उपस्थिति थियो । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल, रमेशसिंह धामी, नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक इन्दिरा गिरी पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो ।