विजयकुमार साह
ढल्केबर, जेठ १० गते । धनुषाको सबैला नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयका लागि एकै पटक ३२ जना शिक्षक नियुक्ति गरेको छ । शिक्षक अभावका कारण नियमित पठनपाठन प्रभावित हुन थालेपछि पालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१, तयार गरी खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गरेको हो ।
पालिकाले चैत २७ गते २५ वटा सामुदायिक विद्यालयमा रिक्त रहेका ७२ शिक्षक पदका लागि विज्ञापन गरेको थियो । सबैला नगरपालिकाका नगर प्रमुख कारिराम यादवका अनुसार दुई सय जनाले आवेदन दिए पनि दस्तुर, कागजात र योग्यता जाँचपछि १९८ आवेदन स्वीकृत भएका थिए । तीमध्येबाट ३२ जना मात्र छनोट भए ।
उहाँले भन्नुभयो, “खुला प्रतिस्पर्धामा उत्तीर्ण हुन नसकेकाले बाँकी पद पूर्ति हुन सकेन । बाँकी पद पूर्तिका लागि फेरि नयाँ विज्ञापन जारी गरिने छ ।” शिक्षक नियुक्तिका लागि नगर शिक्षक अनुदान कोटा प्रयोग गरिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।
शिक्षक तलबभत्ताका लागि यस वर्ष पालिकाबाट ८० लाख रुपियाँ विनियोजन गरिएको र शिक्षकलाई निरन्तरता दिन आउँदो आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
यादवका अनुसार शिक्षकको स्थायित्व र विद्यालयमा निरन्तर पठनपाठन सुनिश्चित गर्न नगरस्तरबाटै योजना बनाइएको हो । शिक्षाको गुणस्तर सुधार गर्न केन्द्र र प्रदेशको भर नपरी पालिकाले आफैँले पहल थालेको हो ।
सबैला नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षकमै अभाव हुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको गुनासो अभिभावक र स्थानीय समुदायबाट आइरहेको थियो । सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोज यादवले पालिकाभित्रका विद्यालयमा शिक्षक पूर्तिको माग राख्दै एक महिनाभन्दा बढी समय धर्ना बस्नुभएको थियो । उहाँले भन्नुभयो, “विद्यालयमा शिक्षक अभावले गर्दा पढाइको स्तर खस्किएको थियो । अब केही शिक्षक आएका छन् । पढाइमा सुधार हुन्छ ।” यद्यपि आफ्नो माग अझै पूरा नभएको उहाँले बताउनुभयो ।