• १० जेठ २०८२, शनिबार

प्रधानमन्त्री कप एनभिए लिग : दुवै पुलिसको दोस्रो जित

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

माधव बराल

माछापुच्छ्रे (कास्की), जेठ १० गते । विभागीय टोलीद्वय एपिएफ क्लब र नेपाल पुलिस क्लबले पोखरामा जारी नवौँ प्रधानमन्त्री कप एनभिए लिग महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । 

पोखरा रङ्गशालास्थित बहुउदेश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । 

एपिएफले २५–७, २५–२३, २५–२० को नजिता निकालेको हो । अर्को खेलमा साविक विजेता पुलिसले एकतर्फी खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–५, २५–९, २५–११ को नतिजा निकालेको हो । 

यस्तै अर्को खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । न्यु डायमन्डले २१–२५, २५–२३, २५–१४ र २५–२२ को नतिजा निकालेको हो । न्यु डायमन्डको पनि यो दोस्रो जित हो । 

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ  हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रूपन्देही सहभागी छन् । 

यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने छन् । 

जेठ १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु राउन्ड रोबिनका आधारमा खेलाइने छ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजेताले आठ लाख, दोस्रोले चार लाख र तेस्रोले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । 

यस्तै उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकलाई जनही २५/२५ हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।