भवानी दत्त भट्ट
कञ्चनपुर, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपालीहरूले स्वदेशमै गुणस्तरीय उपचार सेवा पाउनुपर्ने बताउनुभएको छ । अन्य मुलुकमा उपचार गराउदा नेपाली रुपियाँ बाहिरिने गरेको बताउनुहुँदै मन्त्री खड्काले बिरामीको उपचार नेपालमै गरिनुपर्ने बताउनुभएको हो ।
पछिल्लो समय राज्यले निजी क्षेत्र सँगसँगै सहकार्य गरेर अगाडि बढिरहेको पनि मन्त्री खड्काले बताउनुभयो । शनिबार महेन्द्रनगरमा नेसनल प्याथ ल्याबको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले सामान्य रोगको परीक्षणका लागि पनि भारत दौड्नुपर्ने अवस्थाको अन्त्य हुनेमा विश्वास व्यक्त गनुभयो ।
वि.सं. २०७० सालमा बुटवलबाट सुरु भएको नेसनल प्याथ ल्याबले महेन्द्रनगरसहित देशका १२ सहरमा शाखा विस्तार गरेको छ । काठमाडौा, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, पोखरा, धनगढी हुँदै १२ औं सहरका रूपमा महेन्द्रगनरमा पनि नेसनल प्याथ ल्याबले प्रयोगशाला स्थापना गरेको हो ।
संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि महेन्द्रनगरमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । ‘‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना सङ्कलन गर्ने व्यवस्था पनि मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्ने छन् ।’’ कार्कीले भन्नुभयो ।
महेन्द्रनगरमा पनि नेसनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धी परक्षिणका लागि धनगढी अथवा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । नमुना परक्षिण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने गरेको अध्यक्ष कार्की बताउनुहुन्छ ।
प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निःशुल्क जाँचको व्यवस्था मिलाइएकोे महेन्द्रनगरका शाखा प्रमुख ज्ञान देव जोशीले बताउनुभयो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
नेसनल प्याथ ल्याबले १२ सयभन्दा बढी इनहाउस परीक्षण सेवा दिँदै आइरहेको छ । नमुना परीक्षण, कर्मचारी सङ्ख्याका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठुलो प्रयोगशाला पनि हो । नेसनल प्याथ ल्याब महेन्द्रनगरले प्रत्येक महिना तीन दिन सुगर र मिर्गौला रोगसम्बन्धी जाँच निःशुल्क रूपमा गर्ने शाखा प्रमुख जोशीले बताउनुभयो ।