नवीनराज कुइँकेल
लमजुङ, जेठ १० गते । शिक्षा र सामाजिक सेवामा क्रियाशिल राजशान्ती फाउन्डेसनले सुन्दरबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयमा पोशाक, शैक्षिक सामग्री, पुरस्कार र अक्षयकोष स्थापनामा सहयोग गरेको छ ।
फाउन्डेसनले सुन्दरबजार–९ स्थित भविष्य निर्माण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ५५ थान ट्रयाकसुट, विद्यालयमा पचास हजार एक सय रुपियाँको अक्षयकोष स्थापनामा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी, गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई फाउन्डेसनले पाँच हजार एकसय का दरले नगद पुरस्कार प्रदान गरेको छ ।
सुन्दरबजार–४ दुराडाँडास्थित गाउँफर्क प्राथमिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको प्रधानाध्यापक रामु खनियाले जानकरी दिनुभयो । प्रधानाध्यापक खनियाका अनुसार फाउन्डेसनले २५ थान जुत्ता–मोजा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, उक्त विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा प्रिया अधिकारीलाई ‘सुन्दरबजार कटेसी कुन्छा भाग २’ गीतको म्युजिक भिडियोमा नृत्य प्रस्तुत गर्न फाउन्डेसनले छनोट गरेको फाउन्डेसनका संस्थापक राजशान्ती सुनारले जानकारी दिनुभयो ।
फाउन्डेसनले सुन्दरबजार–६ स्थित आदर्श प्राथमिक विद्यालयलाई २५ थान ट्रयाकसुट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शोभा ढुङ्गानाले जानकारी दिनुभयो । यसैगरी, सुन्दरबजार–८ को कालिका शिक्षा मन्दिरलाई २५ थान झोला हस्तान्तरण गरिएको छ ।
बेलायत बस्दै आउनुभएका फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले आफ्नो परिवारले कमाएको केही रकमबाट गाउँका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले तीन वर्षदेखि विभिन्न विद्यालयमा पुगेर पोशाक, शैक्षिक सामग्री, पुरस्कारमा सहयोेग गरेको बताउनुभयो । परिवारका सदस्यहरूको कमाइको पाँच प्रतिशत रकमको कोष स्थापना गरेर सहयोगका हात फैलाउने गरेको राजशान्ती फाउन्डेसनका सचिव समिप सुनारले जानकारी दिनुभयो ।