काठमाडौँ, जेठ १० गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउनुभयो । पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उहाँको भनाइ छ । स्व. रेग्मीले हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लाग्नुभएको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो उहाँ । धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन् । सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् । उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।’’
सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उहाँको छविबारे उजागर गर्न जरुरी रहेको बताउनुभयो ।