• ९ जेठ २०८२, शुक्रबार

हेटौँडामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण

blog

‘लम्पी स्किन’ रोगविरुद्ध हेटौँडामा रोप अभियान सञ्चालन गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, जेठ ९ गते ।
हेटौँडामा पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । दस वटा स्थानीय तह रहेको मकवानपुरको हेटौँडामा यो रोगको सङ्क्रमण फैलिएको हो । गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग हेटौँडा उपमहानगरपालिका–१७ का पशुपालक कृषक टिकादेवी ढकाल र हेटौँडा उपमहानगरपालिका–१८ का कृषक रामप्रसाद पौडेलले पालन गरेको गाईको नमुना परीक्षणका क्रममा पुष्टि भएको हो ।

शङ्कास्पद नमुना परीक्षणका क्रममा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँले ‘लम्पी स्किन’ पोजेटिभ रहेको पुष्टि गरेको पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा.बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । “गाईको शङ्कास्पद नमुना परीक्षणका लागि काठमाडौँ पठाएका थियौँ, प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा यहाँको पशुमा लम्पी स्किन रोग पुष्टि भएको हो,” कार्यालय प्रमुख ठाकुरले भन्नुभयो ।

खुल्ला  सिमाना र नयाँ पशुको खरिदबिक्री हुँदा रोग पनि भित्रि रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जनचेतना मूलक कार्यक्रम, खोप अभियान र बायो सेक्युरिटीका काम गरेर लम्पी स्किन रोग न्यूनीकरण गर्न लागिरहेको जानकारी दिनुभयो । गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि मकवानपुरमा जेठ पहिलो सातादेखि खोप अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत हेटौँडाको १६, १७ र १८ नं. वडामा पाँच हजार डोज, बकैया गाउँपालिकामा १० हजार डोज र मनहरी गाउँपालिकामा चार हजार डोज खोप लगाउने कार्यभइरहेको पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । 

मकवानपुरमा ७० जना भ्याक्सिनेटरमार्फत हेटौँडा, बकैया र मनहरी गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । यहाँ ३० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । अघिल्लो वर्ष पशुपालन तथा दूध उत्पादनका क्षेत्रमा अब्बल मकवानपुरगढी गाउँपालिकाबाट जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको थियो । रोगका कारण लाखौँको क्षति भएको थियो भने १५ वटा गाईवस्तु मरेका थिए ।

सङ्क्रामक विषाणुजन्य लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको छ ।