• ८ जेठ २०८२, बिहिबार

पर्यटनमन्त्री पाण्डे र युनेस्को प्रमुख टुइटबिच भेट

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच भेटवार्ता । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, जेठ ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीसम्बन्धी महत्त्वपूर्ण छलफल भएको छ ।

संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल गर्नुभयो ।

मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताउनुभयो । साथै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत  तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गर्नुभयो । साथै लुम्बिनीको दीर्घकालीन प्रवर्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराउनुभयो ।