• ८ जेठ २०८२, बिहिबार

मेची राजमार्ग १२ घण्टापछि सुचारु

blog

हेवाखोलामा आएको बाढीले क्षति रेको ह्युमपाइपसहित सडक मर्मतपछि सुचारु भएको मेची राजमार्ग । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ८ गते ।
बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो ।

सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार अवरुद्ध राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो । बिहान सबेरैदेखि सडक डिभिजनको एक्साभेटर, ब्याक हो लोडर (जेसिभी) लगायतको उपकरण प्रयोग गरी हेवाखोलामा आएको बाढीले क्षति गरेको ह्युमपाइप मर्मत गरेपछि राजमार्ग खुलेको बरालले जानकारी दिनुभयो ।

इन्जिनियर बरालका अनुसार बाढीले क्षति गरेको ह्युमपाइप र सडक मर्मतपछि राजमार्ग सुचारु भएको छ । राजमार्ग सुचारु भएसँगै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीतर्फ जाने र ताप्लेजुङ भित्रिने साना–ठुला सबैखाले यातायातका साधनहरू सञ्चालनमा आएका उहाँले बताउनुभयो ।

वर्षासँगै हेवाखोलामा आएको बाढीले ह्युमपाइप बगाएर मेची राजमार्ग अवरुद्ध बनेपछि ताप्लेजुङवासी चिन्तित बनेका थिए । राजमार्ग अवरुद्ध हुँदा उपभोग्यसहितका आवश्यक सामग्री ढुवानी गर्न र लामो दूरीको यात्रामा समस्या हुनेभन्दै जिल्लावासीमा चिन्ता छाएको थियो । करिब १२ घण्टापछि राजमार्ग खुलेकाले तत्कालका लागि भने जिल्लावासीलाई चिन्तामुक्त बनाएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो ।

अध्यक्ष गौतमले बर्खायाम सुरु भइसकेकाले पानी पर्ने र खोला नदीनालामा बाढी आउने कुनै टुङ्गो नहुने हुँदा ह्युपाइपभन्दा पनि बेलिब्रिज निर्माणको कामलाई तीब्रता दिनुपर्ने बताउनुभएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएमा मात्र निर्वाध रूपमा राजमार्ग सञ्चालन भइरहनेमा ढुक्क हुन सकिने उहाँको भनाइ छ । 

यता हेवाखोलामा बेलिब्रिज निर्माणका काम भने तीव्र रूपमा भइरहेको सडक डिभिजन इलामका इन्जिनियर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जिप निर्माण गर्नेसहित पूर्वाधार निर्माणको काममा करिब ८० प्रतिशत प्रगति भइसकेको छ । बाँकी पूर्वाधारका काम र ट्रस जडानसहित जेठ २५ सम्ममा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो । गत असोज दोस्रो साता आएको बाढीले हेलाखोलाको बेलिब्रिज बगाएको थियो ।