शालिग्राम नेपाल
चितवन, जेठ ८ गते । भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ । १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौँ भरतपुर परीक्षण उडान गरेको हो ।
यस अगाडि श्री एयर लायन्सले ८० सिट क्षमताको जहाजले परीक्षण उडान गरेर नियमित यात्रु ओसार्दै आएको थियो । अहिले श्री एयरको नियमित उडान हुन सकेको छैन ।
अहिले बुद्ध एयरले उडानको सफल परीक्षण गरेको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । बुद्ध एयरका प्रविधिक, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक तथा अन्य प्राविधिकले अध्ययन गरेपछि नियमित उडानका लागि अनुमति दिने गर्दछ । वरिपरी घर तथा रुख भएका कारण ७२ सिट क्षमता भएको जहाज अवतरण र उडान गर्न समस्या हुने भन्दै उडाइएको थिएन । विमानस्थलको धावन मार्ग विस्तार गर्ने तयारीको अवस्थामा रहेको छ ।
अहिले यो विमानस्थलमा बुद्ध एयरको ४२ सिट क्षमता भएको विमानले नियमित उडान भर्दै आएको छ । ७२ सिट क्षमताको विमान आउन थालेपछि भाडा दर घट्ने विश्वास लिएको छ ।
जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्नसक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर बस्नेतले जानकारी दिनुभयो ।
अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएको छ । काठमाडौँ–भरतपुर दैनिक सातवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । क्षमता ४७ सिट भए पनि धावनमार्ग र बढी तापक्रमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । बुद्धले एयरले २० वर्ष अगाडिबाट काठमाडौँ–भरतपुर नियमित उडान गर्दै आएको छ ।