बिन्दु थापा
पाल्पा, जेठ ७ गते । पाल्पामा बिनासूचना विद्युत् कटौती हुँदा खानेपानी वितरणमा समस्या हुने गरेको छ । अनियमित विद्युत् आपूर्ति भएपछि यसको प्रत्यक्ष असर खानेपानी उपभोक्ता समितिलाई परेको छ । जसले गर्दा खानेपानी प्रयाप्त मात्रामा उपलब्ध गराउन नसक्दा स्थानीयवासीलाई समस्या भएको छ ।
‘‘लोडसेडिङ छैन भन्छन्, तर विद्युत् आएको छैन । आएपछि फेरि जान्छ,’’ तानसेन खानेपानी उपभोक्ता समिती तानसेनका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भन्नुभयो । उहाँले यसले गर्दा पम्पहरू बिग्रने पानी सङ्कलन गर्न नसकिने जानकारी दिनुभयो ।
विद्युत् प्राधिकरणले बिना सूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक करिब चार÷पाँच घण्टा विद्युत् जाने र आए पनि ‘लो भोल्टेज’ कम हुने गरेका कारण पानी तान्ने मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अनियमित विद्युत् आपूर्ति हुँदा तानसेन नगरपालिकामा लिफ्टिङ गरेर उपलब्ध गराउने पिउने पानीको समस्या हुने गर्दछ । ‘‘बिजुली भएन भने धारामा पानी आउँदैन,’’ तानसेन ४ का कमल रायमाझीले भन्नुभयो, ‘‘निकै वर्ष काकाकुल भएको तानसेनमा खानेपानी सहज हुने भो भनेर खुसी भएको फेरि बिजुलीले धोका दिन थाल्यो । बिजुली गएपछि पानी आउँदैन समस्या थपियो ।’’
पानी आइरहेकाले रुखहरु ढ्ल्ने समस्याले विद्युत सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण वितरण केन्द्र पाल्पाका प्रमुख दिलिप मरासिनिले बताउनुभयो । ‘‘पानी पर्दा र हावाहुरी लाग्दा केही समय विद्युत् कटौती हुन्छ ।’’ उहाँले भन्नुभयो ।
‘‘लोडसेडिङ पूर्णरूपमा हटेको छ, कहिलेकाहीँ मौसमका कारण विद्युतमा समस्या आउँछ हामी बुझ्छौं ।,’’ तानसेन ३ का रमेश पौडेलले भन्नुभयो ।