• १६ असार २०८१, आइतबार

दुर्गमको यथार्थ म्युजिक भिडियो रेलको बाटो

blog

हुम्ला, जेठ २८ गते । हालसम्म सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको यथार्थ झल्काउने प्रयास म्युजिक भिडियो रेलको बाटोले गरेको छ । जिल्लाका विभिन्न बस्ती र रमणीय स्थानमा पुगेर कलाकारले सो प्रयत्न गर्नुभएको हो । 

म्युजिक भिडियो गीतको सुरुवात ‘हुम्ला कहिले मोटर आउला...’बाट सुरु भएको छ । भिडियोको शब्द लेखन गर्नुभएका लेखराज गिरीले भिडियोबाट हुम्लाबासीलगायत दुर्गमका बासिन्दाले भोग्नुपरेका पीरमर्कालाई यथार्थपरक रूपमा समेट्न खोजिएको बताउनुभयो । 

भिडियोमा चौँरीका बथान उच्च पाटनमा चर्ने दृश्यदेखि हुम्लाकै प्रचारमा आउन नसकेको च्याछरा छहराको दृश्यले समग्र भिडियोलाई ओज दिने कार्य गरेको छ । भेडाको बथान, हुम्लाका बेरोजगार युवाहरूको कमाइ मुख्य स्रोत खच्चडमा भारी बोकाएर सामान ओसारपसार गर्ने पक्षलाई पनि महत्त्वका साथ समेटिएको छ । हिउँदमा हिउँ पर्दा सेताम्मे हुम्लाका बस्ती, हिउँ फाल्दै गरेकी महिलाको दृश्यले पनि भिडियोमार्फत पीडालाई उजागर गर्न खोजिएको छ । 

महिलालाई कार्यबोझ बढी हुन्छ भन्ने कुरा जेठासीबाली जौ, गहुँ टिप्दै गरेको दृश्य पनि उस्तै मार्मिक रहेको छ । गीतका शब्दमा एकातिर हुम्लाबासीले भोग्नुपरेका पीडालाई प्रस्फुटन गर्ने कार्य गरेको छ भने अर्कोतिर सहरमा रेल पुग्ने पक्षलाई पनि व्यङ्ग्य गर्न खोजिएको छ । सहरमा उच्च ओहदामा बस्नेले चिल्ला सडकमा चिल्ला गाडी चढ्ने गरे पनि दुर्गममा विद्यार्थीले तुइन चढेर विद्यालय जानुपर्ने, भारी बोकेर भरियाले पैदल हिँड्नुपर्ने, कतै सडक जोडिएका स्थानमा कच्ची र धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यतालाई गीतका शब्द र दृश्यले मन छुने कार्य गरेको छ । 

हुम्लाका गाउँबस्तीमा हिउँमा खच्चडमा भारी बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता, उच्च पाटनका खर्कमा खर्कालुहरूले चौँरी, जुमा पाल्ने र मही बनाउने दृश्यले पनि मेहनत गरेको देखाउन खोजेको छ । छ महिना उच्च पाटनका खर्कमा बाटो र पुल नभएपछि चौँरीगाईले खोला तर्नुपर्ने र त्यसबाट पशुहरु बग्ने डर हुने कुरालाई पनि बाहिर ल्याउन खोजिएको छ । हुम्लामा बर्सेनि धेरै पशुबस्तु खोला तर्ने क्रममा बग्ने गरेका पनि छन् जुन कुरालाई भिडियोले बाहिर ल्याएको छ । भरियाहरूले भारी बोक्ने, बिरामी पर्दा नजिक स्वास्थ्य चौकी र सिटामोलसमेत नभएर बिरामी उपचारबिनै खाली जमिनमा पल्टिनुपर्ने र कतिपयले त त्यसै मर्नुपर्ने बाध्यतालाई पनि देखाउने प्रयास गरिएको छ । 

अर्को कुरा कुनै घटनामा परी चोट लागे रोएर बस्नुपर्ने वा धामी र लामा बसाल्नुपर्ने यथार्थलाई पनि बाहिर ल्याउन खोजिएको छ । सडक सञ्जाल हुम्ला जोड्नका लागि सुस्त गतिमा निर्माण भइरहेको निर्माण कार्यका दृश्य पनि देखाइएको छ । विद्यार्थीले पैदल हिँडेर विद्यालय जानुपर्ने, साना नानीले पढाइका साथै घरको काम पनि गर्नुपर्ने, विद्युत् नपुगेका कारण अहिले पनि पानी घट्टमा अन्नपात पिसेर जीविकोपार्जन गर्नुपर्ने पक्षलाई पनि बाहिर ल्याइएको छ । 

गाउँमा हुनेखानेका नानीले दिउँसो नास्ता भात खाँदै गरेको र नहुनेका नानीले हेरेर थुक निल्नुपर्ने, धारा–पँधेराको काम तिनै नानीले गर्नुपर्ने पक्षलाई बाहिर ल्याउने कार्य भएको छ । 

सरकारले ढुवानी अनुदानमा उपलब्ध गराएको खाद्यान्न लिन महिलाले लाग्नुपर्ने लाइन, दाउरापानीको भारी बोक्नुपर्ने बाध्यता, भारी बोकेर काठेपुल तर्नुपर्ने जोखिमलाई पनि म्युजिक भिडियोले देखाएको छ । यसका लागि उक्त म्युजिक भिडियोलाई स्वरसङ्गीत सुरज पण्डितले दिनुभएको छ भने सङ्गीत संयोजन कमल सौराग, सम्पादन लोकेश भाट, छायाङ्कन ट्राभलर अभिनाश, रेशमराज रोकाया, दाने बोहरा र हरिस महरा, निर्देशन सुरज पण्डित र वल्र्ड कभर मिडिया प्रालिले दृश्य निर्माण गरेको छ । मारुनी डिजिटलले रेकर्डिङ गरेको छ ।