अविनाश चौधरी
धनगढी, जेठ ६ गते । थारू समुदायको देउठन्वाको भौतिक संरचना मासिने क्रम बढेको सो समुदायका व्यक्तिले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोगमा सङ्घारी मल्टिपल सर्भिस एन्ड रिसर्च प्रालिले मङ्गलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
थारू देउठन्वा संरक्षण विषयक बृहत् अन्तर्क्रिया कार्यक्रमका सहभागीले परम्परादेखि कुलदेवता राख्न र विभिन्न पूजाआजा गर्न प्रयोग भइरहेको देउठन्वा पछिल्लो समय नबनाउने क्रम बढेको बताएका छन् । साथै उनीहरूले यसको संरक्षण गर्न आवश्यक रहेको औंल्याएका छन् ।
प्रदेशसभा सदस्य गीता चौधरीले देउठन्वा जोगाउन आवश्यक रहेको बताउनुभयो । थारू समुदायको देउठन्वासहित अन्य मौलिक कला, संस्कृतिको जगेर्नाका लागि पर्याप्त बजेट छुट्याउन पहल गर्ने उहाँको भनाइ छ ।
देउठन्वामा थारू समुदायका विभिन्न कुल देवता राखिन्छ । यसमा संस्कार र समय अनुसार विभिन्न पूजा हुने गर्दछ । समुदायमा संस्कार अनुसारको पूजा हुँदै आए पनि देउठन्वाको भौतिक संरचना दिनप्रतिदिन मासिनेक्रममा रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य पुरन चौधरीले बताउनुभयो । उहाँले देउठन्वाको संरक्षण गर्ने दायित्व सरकारको रहेको उल्लेख गर्नुभयो ।
देउठन्वा थारू समुदायको संस्कृति र पहिचानसँग जोडिएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औंल्याइएको छ । पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा विभिन्न ठाउँमा देउठन्वा निर्माणको काम भइरहेको जनाइएको छ । तर विभिन्न तहका सरकारबाट निर्माण भइरहेका देउठन्वा थारू समुदायको मौलिक परम्परानुसार नबनाइएको थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीले बताउनुभयो ।
उहाँले परम्परागत शैलीमै मरुवाको संरचना बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश महासचिव शिवराज भट्टले परम्परागत धार्मिक मूल्य, मान्यता हराइ रहेका कारण देउठन्वाजस्ता मौलिक संरचना जोगाउन आवश्यक रहेको बताउनुभयो । सङ्घारीका अध्यक्ष उन्नती चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।