• १८ जेठ २०८२, आइतबार

नेत्रलाललाई साक्षी राखेर पार्टीलाई जनजागरणमा जोड्नुपर्छ : महासचिव पोखरेल

blog

नेत्रलाल अभागी स्मृति सभामा मन्तव्य राख्नुहुँदै नेकपा (एमाले)का महासचिव शंकर पोखरेल।

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ ६ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताउनुभएको छ। एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१  औँ  स्मृति कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले पश्चिम नेपालको कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्नका लागि अभागीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। 

महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेलाई फेरि जनतामाझ लैजानका लागि, नेत्रलाल अभागीकै, विचारबाट डोर्‍याउने  बेला आएको छ।’ अभागीको आधारभूत वर्ग प्रेमबाट अहिलेका नेता र कार्यकर्ताले  प्रेरणा लिनुपर्ने उहँको भनाइ छ। 

एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालबाटै धारणा बनाउने र पठन संस्कृतिको कमी भइरहेको बेला अभागीको जीवनीबाट अध्ययन संस्कृतिलाई समेत बढावा दिनुपर्नेमा जोड दिनुभयो। 

महासचिव पोखरेलले युवालाई स्वदेशमै रम्न सक्ने र उत्पादनशील क्षेत्रमा क्रियाशील बनाउनका लागि सरकारले नयाँ कार्यक्रम ल्याएको बताउनुभयो। उहाँले युवा उद्यमशीलताका माध्यमबाट बढ्दो बेरोजगारी समस्याको समाधान गरिने बताउनुभयो। 

सहिद नेत्रलाल अभागी साहित्यकार, शिक्षकका रूपमा समेत परिचित हुनुहुन्थ्यो। उहाँकै नामबाट जिल्लामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेत्रलाल प्रावि, घोराही उपमहानगरपालिकामा नेत्रलाल रङ्शाला र सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ। कार्यक्रमलाई एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरीले मन्तव्य राख्नुभएको थियो।