• १८ जेठ २०८२, आइतबार

सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयोः सांसद कुँवर

blog

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ६ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद कुँवरले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवम् जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गर्नुभयो । साथै उहाँले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना घट्न थालेकाले हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षसमेत गराउनुभयो ।

‘‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको छ । राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ । पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लमो समयदेखि सिकिस्त विरामी भई अस्पतालमा हुनुहुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु । वर्षायामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउमा घटनाहरु घटेका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचार राज्यले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।