• १९ जेठ २०८२, सोमबार

युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

blog

ऐतिहासिक सिन्धुलीगढीस्थित नेपाली सेनाले बनाएको युद्ध सङ्ग्रहालय । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीगढी (सिन्धुली), जेठ ६ गते ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै गएको छ ।

चार वर्षअघि नेपाली सेनाले निर्माण गरेको नेपालकै दुर्लभ उक्त सङ्ग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । युद्ध सङ्ग्रहालयको अवलोकन गर्न धनुषा जिल्लाको महेन्द्रनगरबाट आउनु भएका विरेन्द्र यादव सङ्ग्रहालय लोभ लाग्दो पाएको बताउनुहुन्छ  ।

उहाँले भन्नुभयो, ‘‘सङ्ग्रहालय भित्र सङ्ग्रह गरी राखिएका ऐतिहासिक वस्तुहरु भोलिका पुस्ताका लागि समेत उत्तिकै चाखलाग्दो रहेछ । पहिलो पटक सिन्धुलीगढी घुम्न आएको तर उत्साहित भएर फर्किदै छु ।’’ अहिले दैनिक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक युद्ध सङ्ग्रहालय अवलोकन गर्न र सिन्धुलीगढी घुम्न आउन थालेका स्थानीय बासिन्दा बताउँछन् ।

‘‘गर्मी मौसममा ऐतिहासिक सिन्धुलीगढीको मौसम पनि लोभलाग्दो छ,’’ कमलामाई नगरपालिका–६ मल्लागाँउ निवासी बेनीकुमार रायमाझी भन्नुहुन्छ, ‘‘एउटै नगरपालिकामा पनि यतिखेर दुई थरी हावापानी छ । सदरमुकाममा यतिखेर उखर्माउलौ गर्मी छ, सिन्धुलीगढीमा सिरक ओड्नु पर्ने खालको चिसो छ । कतिपय मासिन गर्मी छल्न मनोरम दृश्य अवलोकन गर्न पनि सिन्धुलीगढी जाने गरेका छन् ।’’

उक्त सङ्ग्रहालयको परिसरमा निर्माण भएको वीर योद्धाहरु श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र बिरभद्र उपाध्यायको प्रतिमा, ठुलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्त्वमा ऊर्जा थपेको उहाँको ठम्याई छ ।

पहिले नाममात्रै रहेको सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै गएको स्थानीय खनियाखर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘जतिसुकै व्यस्त मान्छे अहिले सिन्धुलीगढी पुगेपछि कम्तीमा पनि डेढ घण्टा समय खर्च भएको पत्तै पाउदैन । त्यहा बनेको समरचना हेर्दा हेर्दै उक्त समय बित्द छ ।’’

कमलामाई नगरपालिकाका अनुसार अहिले सिन्धुलीगढी घुम्न आउने मानिसले सङ्ग्रहालय भित्र सङ्ग्रहित गरी राखिएको थिएटर मार्फत गढीको ऐतिहासिक सामरिक महत्त्वको वृत्त चित्रको प्रर्दशनी, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक लगायत ऐतिहासिक वस्तुहरू अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल सङ्ग्रहालय दैनिक बिहान १० देखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । सङ्ग्रहालय अवलोकन गर्न नेपाली नागरिकले प्रतिव्यक्ति ५० रुपियाँ र विदेशी नागरिकले त्यसको दोब्बर शुल्क तिर्नु पर्दछ । उहाँले भन्नुभयो, ‘‘अहिले युद्ध सङ्ग्रहालय हेर्न आउने मानिस दैनिक बढ्दै गएका छन् । उक्त सङ्ग्रहालय नेपालकै पहिलो दुर्लभ भएकाले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएका हुन् । सङग्रहालय अवलोकन गर्न आउने मध्ये ४५ प्रतिशत नागरिक भारतीय छन् ।’’

नगरपालकाका अनुसार सिन्धुलीगढीमा नै अहिले बागमती प्रदेश सरकारको साढे चार करोड रुपियाँ लागतमा रानीदरबार निर्माण भएको छ । त्यस्तै सिन्धुलीगढी युद्धमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको रक्ते छाँगोमा समाधिपार्क निर्माणको तयारी भइरहेको छ । यि सबै समरचना निर्माण भई सकेपछि सिन्धुलीगढी घुम्न आउनेबाट वार्षिक पाँच करोड रुपियाँ आम्दानी लिने योजना कमलामाई नगरपालिकाले बनाएको छ ।

नगरपालिकाका अनुसार उक्त सङग्रहालय नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध सङग्रहालय बनाउन सुरु गरिएको थियो । उक्त सङ्ग्रहालय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको थियो । नेपाली सेनाको करिब सात करोड रुपियाँ लागतमा सिन्धुलीगढीमा युद्ध सङग्रहालय निर्माण भएको हो । छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तल्ले सङ्ग्रहालय निर्माण भएको छ ।

नेपाल एकीकरणका बेला वि.सं. १८२४ असोज १५ गते काठमाडौँ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले हराएकाले उक्त स्थानको ऐतिहासिक महत्त्व रहेको जनाइएको छ ।