• १० पुस २०८२, बिहिबार

जग्गा दान दिने दातालाई सम्मान गरिने

blog

मालपोत कार्यालय लहानमा जग्गा रजिष्ट्रेशन भएपछि लालपूर्जा बुझाउँदै मालपोत कार्यालय प्रमुख डमरुप्रसाद निरौला । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान,पुस १० गते ।
लहान नगरपालिका वडा नम्बर ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जगगा रजिष्ट्रेशन भएपछि अस्पताललाई जग्गा दान दिने दाता परिवारलाई सम्मान गरिने भएको छ ।

करिब ४७ वर्षदेखि अस्पताल अवस्थित रहेको एक विगा १५ कठ्ठा दस धुर जग्गा हिजो (बुधबार) दाता परिवारका तर्फबाट पवनकुमार शारडा र मुरारीलाल मुरारकाले मालपोत कार्यालय लहानमा जग्गा रजिष्ट्रेशन गर्नुभएको थियो ।

जग्गा रजिस्ट्रेशन भएपछि आज (बिहीबार) अस्पताल क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनाल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र दाताद्वय मुरारका र शारडालाई सम्मान गर्न लागिएको अस्पतालले जनाएको छ ।

अर्थमन्त्रालयले जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर एक करोड ३५ लाख गत मङ्सिर २६ गते बसेको मन्त्रिपरिषदबाट मिनहा गरेपछि जग्गा रजिष्ट्रेशनका लागि बाटो खुलेको अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेश सरकारले लाभकर मिनहाका लागि गरेको सिफारिस अर्थमन्त्रालयमा अडकेको थियो । जेनजी आन्दोलनपछि खेलकुद मन्त्री बन्नुभएको गुप्ताको पहलमा मन्त्रिपरिषदबाट लाग्ने लाभकर मिनाहा भएपछि बुधबार  जग्गा रजिष्ट्रेशन भएको जानकारी उहाँले दिनुभयो ।  

अर्बौ मूल्यको जग्गा दान गर्नुभएको लहानका लब्ड प्रतिष्ठित शारडा र मुरारका परिवारले २०३७ सालमा अस्पताल निर्माण गर्नुभएको थियो । अस्पताललको नाममा जग्गा रजिष्ट्रेशन नभएकाले मधेश प्रदेश सरकारले प्रादेशिक अस्पतालको मान्यता दिएर स्तरोन्नति गरेपनि भौतिक निर्माण लगायत अन्य अस्पताल विकासका कामहरुमा अवरुद्ध भएको अस्पतालका प्रमुख (मेसु) रञ्जित कुमार झाले बताउनुभयो । ‘‘जग्गा रजिष्ट्रेशन भएपछि अस्पतालको विकासले गति लिइनेछ, ४७ वर्षसम्म जग्गा रजिष्ट्रेशन नभएको कार्य सम्पन्न भएपछि लहानमा हर्षको माहोल छ,’’ उहाँले भन्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएको अर्थ मन्त्री खनाल र विशिष्ट अतिथि खेलकुद मन्त्री गुप्ता लहान आइसक्नुभएका छन् । दाता परिवारद्वय शारडा मुरारकाले जग्गाको लाालपूर्जा अस्पताललाई हस्तान्तरण गरिने र अस्पतालले मन्त्रीद्वय र दाताद्वय परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेका छ । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङगीलाल राय यादव प्रदेशसभाका सदस्यहरुको समेत उपस्थिति रहने  आयोजकले बताइएको छ  ।