काठमाडौँ, जेठ ५ गते । प्रतिनिधिसभा बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताउनुभयो ।
उहाँले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबी समेत गर्नुभयो ।
मन्त्री खडकाले भन्नुभयो, “विधेयकले जलको लाभ र हानीको विषय समेटेको छ”, उहाँले भन्नुभयो, “आयोगले विधेयक पारित भएपश्चात् विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने छ, यसले जलको न्यायोचित बाँडफाँटमा सहयोग पुग्ने छ ।”
यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राख्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्ने छ ।