जनार्जन खत्री
सर्लाही, जेठ ५ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय अरविन्दको विवाहित एक महिलासँगको प्रेम सम्वन्धका कारण हत्या भएको जानकारी गराएको हो । प्रहरीले हत्यामा संलग्न रहेका अरविन्दको प्रेमीसहित छ जनालाई सार्वजनिक समेत गरेको छ ।
पक्राउ पर्नेमा अरविन्दको प्रेमी ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान २९ वर्षीय मोस्तकिम अन्सारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनूर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन् । पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् ।
प्रहरीका अनुसार मृतक अरविन्द र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्वन्ध रहेको थियो । अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन् । उनीहरु गएको चैत १९ गते घरबाट भागेर भारतसम्म पुुगेका थिए । भारतमा एक महिना बसेर उनीहरु वैशाख २० गते नेपाल आएका थिए ।
घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमती जुटेको थियो । त्यसपछि पनि अरविन्द पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ ।
अरविन्द आउजाउ गरेको देखेपछि परिवार तथा गाउँलेले नजिमा खातुनलाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर अरविन्दको हत्या गर्ने योजना बुनेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । अरविन्द वैशाख २४ गतेदेखि किसनपुरस्थित आफ्नो घरबाट बेपत्ता हुनुहुन्थ्यो ।
अरविन्दलाई वैशाख २८ गते बिहान ईश्वरपुर नगरपालिका-६ मा रहेको फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर पक्राउ परेका अभियुक्तहरु मिलेर ईश्वरपुर नगरापालिका-८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जानकारी दिनुुभयो ।
एसपी खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनका श्रीमान मोस्तकिमसहितले अरविन्दको हत्या गरेको खुलेको छ ।
अरविन्दको हत्यापछि अभियुक्तहरु शवलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए । हत्या गरेको भोलीपल्ट वैशाख २९ गते राति ९ बजेतिर अभियुक्तहरुले पुनः अरविन्दको शवलाई ईश्वरपुर नगरपालिका–८, थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए ।
वैशाख ३० गते बिहान ८:३० बजे मृतक अरविन्दको शव फेला परेको थियो । सुरुमा शवको सनाखत नै हुन सकेको थिएन् । प्रहरीले बेवारिसे शव भन्दै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्यो ।वैशाख ३१ मृतकको दाजु अशोककुमार पण्डित कुम्हारले अस्पतालमा पुगेर शवको सनाखत गर्नुभएको थियो ।
प्रारम्भिक अनुसन्धानमा अरविन्दको हत्यामा छ जना संलग्न रहेको पाइएको छ । अब उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताउनुभयो ।
अहिलेसम्मको अनुसन्धानमा अरविन्दको मुख थुनेर हत्या भएको र हत्यामा कुनै हतियार प्रयोग नभएको पाइएको प्रहरीले जनाएको छ ।