हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ ५ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बच्चा जन्मेदेखि १५ महिनासम्मका १४ जना र १६ महिनादेखि २३ महिनासम्मका १० जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको हो ।
बालबालिकाहरुले जन्मेदेखि २३ महिनासम्म विभिन्न प्रकारका खोपहरु पाएको स्वास्थ्य शाखाकी अनमी धनमायाँ थापाले बताउनुभयो । लोमान्थाङमा बालबालिकाको संख्या कम भएको र बस्तीस्तरमै पुगेर विभिन्न सचेतनामुलक अभियानमा समेत समुदायलाई जोड्दै पूर्णखोप अभियान सुरु गरिएको हो ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले बताउनुभयो ।
बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइड लगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । छोसेर, छोन्हुप र लोमान्थाङ गरी तीन वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले महामारीजन्य विभिन्न प्रकोपबाट बच्नको लागि पनि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्नुपर्ने बताउनुभयो । लोमान्थाङ मुस्ताङको पहिलो पालिकाको रुपमा पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ भने मुस्ताङका अन्य स्थानीय तहले समेत अभियानलाई तिब्रता दिएका छन् ।