• ४ असार २०८२, बुधबार

कुनै धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नुहुँदैनः गृहमन्त्री

blog

गृहमन्त्री रमेश लेखक सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गृह मन्त्रालयसम्बन्धी राख्नुभएको मौखिक प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, जेठ ५ गते । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभामा सांसदहरुका जिज्ञासाको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने बताउनुभयो । उहाँले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने भन्दै । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनुभयो । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको बताउनुभयो ।

‘‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन । कुनैपनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ । जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’’

गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने बताउनुभयो ।