नन्द सिंह
(रलिङ) हुम्ला, जेठ ५ गते । तिल गाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिकाका–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयो ।
उहाँले आफूसहित ४ जनाको टोली ४७ सय मिटरभन्दा माथिको स्थानसम्म पुग्दा हिमताल फुटेको फेला पारेको बताउनुभयो । नाम्खा गाउँपालिका–६ को तिल गाउँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा जेठ १ गते बिहीबार राति पानी नै नपरी एक्कासी बाढी आएको थियो । उक्त बाढी लगतै जोखिममा परेका १८ घरपरिवारका ३२ जनालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो। उनीहरू अहिले पनि त्रिपालमा बस्दै आएका छन् । जसमा २१ महिला, ९ जना पुरुष र २ बालक छन् ।
बिना वर्षा एक्कासी बाढी आउँदा त्रसित भएका स्थानीयले कारण खोज्दै खोलाको माथिल्लो भेगतिर जाँदा हिमताल फुटेको पत्ता पाएका हुन् । लेदो सहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पुर्याएकाे छ ।
१५ किलोवाट क्षमताको एउटा जलविद्युतको पावर हाउस बगाएको छ भने करिब ४ सय रोपनीमा सिचाइँ हुँदै आएको कुलो समेत बगाएको छ । बाढी पहिरोका कारण उहाँ, आलु लगायतको खेती बगाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । राति एक्कासी बाढी आउदा तिल गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अवरोध भएको छ ।
बाढी पहिरोले सबै तहसनहस बनाएपछि स्थानीय चिन्तित बन्दै गएका छन् । पहिरोका कारण स्थानीय जोखिम मोलेर बस्नु मात्रै नभई आगामी दिन गास, बास र कपासको समेत कठिनाई हुने स्थानीयले गुनासो गरेका छन् ।
पहिरोले पुर्याएकाे क्षतिको थप विवरण सङ्कलन भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।