काठमाडौँ, जेठ ५ गते । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मातहत युनिटका कमान्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले आइतबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमान्डरलाई सो निर्देशन दिनुभएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार अतिरिक्त महानिरीक्षक पौडेलले अघिल्ला वर्षमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामानहरू तयारी हालतमा राख्नुको साथै विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले विपद् भएको स्थानमा छोटोभन्दा छोटो समयमा पुग्नसक्ने गरी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति तयारी हालतमा राख्नुको साथै टोलटोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिम समेत सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
अतिरिक्त महानिरीक्षक पौडेलले मनजसुनजन्य विपद् घटनामा क्षति न्यूनीकरणका लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न निर्देशन दिनुभएको छ । साथै यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले परिपत्र समेत गरेको छ ।
भर्चुअल मिटिङमा सबै प्रदेशका बाहिनीपतिहरूले आ–आफ्नो क्षेत्रमा भएका विपद् उद्वारको तयारीबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत, हवलदार र जवानहरू समेतकाे उपस्थिति रहेको थियो ।