• ५ जेठ २०८२, सोमबार

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

blog

साम्बा चोक उद्घाटनपछि साम्बाका बुवाआमासहित गाउँपालिका अध्यक्षलगायत अतिथिहरू । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ ५ गते । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्क्याचुसहित स्तम्भ निर्माण गरिएको हो । 

सो स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डिएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डितलगायतको सहागिता थियो ।

“हाम्रो चेली सावित्राले फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकावासी धेरै हर्षित छौं”, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ साम्बा चोक स्थापना गरेका हौं ।” 

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले सावित्रा भण्डारी जस्ता खेलाडीहरूले राष्ट्रलाई खेलका माध्यमबाट विश्वसामु परिचित गराएको बताउनुभयो । उहाँले राज्यले यस्ता खेलाडीलाई सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने वडा नं. ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो ।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गरिएको र स्तम्भ राखिएकोमा खुसी व्यक्त गर्नुभयो । “मेरो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको छ”, उहाँले भन्नुभयो, “यो निर्णय र कामका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।” 

स्तम्भ उद्घाटनका क्रममा साम्बाका बुवा आमा थमबहादुर भण्डारी र मुना भण्डारीलाई सम्मान गरिएको थियो । छोरीको नाममा चोकको नामाकरण भएकोमा साम्बाका बुवा थमबहादुरले खुसी व्यक्त गर्नुभयो । 

वि.सं. २०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसक्नुभएको छ । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ । साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ ।