• ५ जेठ २०८२, सोमबार

बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

नेपालगन्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ५ गते । बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जिल्लाको डुडुवा, खजुरा, राप्तीसोनारी, जानकी र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको बताउनुभयो । उहाँले अब नरैनापुर गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा हुन बाँकी रहेको जनाउँदै सो पालिकामा पनि घोषणाको तयारी अन्तिम चरणमा पुगेकोले केही दिनमै घोषणा गरिने बताउनुभयो । 

जिल्लाका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने क्रममा पछिल्लो पटक जिल्लाको एक मात्र उपमहानगर नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

उपमहानरगपालिकाका सबै २३ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

नेपालगन्जमा १६ महिनादेखि २३ महिना र १६ देखि ५९ महिनाका सबै बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । 

उहाँले घरधुरी सर्वेक्षणका क्रममा उपमहानगरपालिकाका १५ देखि २३ महिनाका लक्षित तीन हजार ३५७ जना बालबालिका मध्ये सबैलाई पूर्ण खोप प्रदान गरिएपछि उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनुभयो । 

स्वास्थ्य महाशाखाका अनुसार त्यसका लागि २३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई महिला स्वास्थ्य स्वयंसेविकासहित घरधुरी सर्वेक्षणका लागि परिचालन गरिएको थियो। घरधुरी सर्वेक्षणका क्रममा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले सबै खोपको मात्रा लगाए नलगाएको एकिन गरिएको थियो ।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । 

कार्यक्रममा बोल्ने अधिकांशले स्वास्थ्य सम्बन्धि खोप, टीका र अन्य औषधी सेवनमा नेपालगन्ज अन्य पालिका भन्दा पछाडि रहेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि स्वास्थ्यकर्मीको भूमिका अतिनै सराहनीय रहेको बताउनुभयो । 

स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार नेपालगन्ज २०७६ सालमा पूर्ण खोप घोषणा भएको थियो । तर, प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्नु पर्ने प्रावधान अनुसार यस वर्ष पनि पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।