दैलेख, जेठ ५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्नुभएको छ ।
अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गर्नुभएको हो । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गर्नुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ । ”
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । रासस