• ५ जेठ २०८२, सोमबार

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

blog

काठमाडौँ, जेठ ५  गते ।  नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । 

सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ ।


ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुने छन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्ग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् ।  

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।


नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । यसैगरी  रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१, पुजा महतोले १३, राजमती ऐरीले आठ तथा रुवि पोदारले अविजित ६ रन बनाइन् । बलिङतर्फ युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले एक एक विकेट लिए । 

यसअघि युएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले  सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए । बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए ।


यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ । अब नेपालले सुपर–३ को अन्तिम खेल मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।