शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ५ गते । ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जनाको मात्र क्षमता रहेको कारागारमा हाल ७४ जना कैदीबन्दी रहेका छन्, जसमा ५५ जना कैदी र १९ जना थुनुवा छन् । उनीहरूमध्ये सात जना महिला कैदी रहेका छन् ।
जिल्ला कारागारका निमित्त जेलर लेखनाथ दाहालका अनुसार कैदीको सङ्ख्या बढेसँगै दैनिक जीवनयापनका आधारभूत आवश्यकतामा चुनौती थपिएको छ । “वासस्थान, खानेपानी र शौचालयको व्यवस्थापनमा अत्यधिक समस्या छ,” उहाँले बताउनुभयो । त्यससँगै स्वास्थ्य सेवा झनै चिन्ताजनक बनेको छ । माघ महिनादेखि कारागारमा दरबन्दी अनुसारको अहेव÷अनमी नहुँदा कैदी तथा कारागार कर्मचारी बिरामी पर्दा उपचारमा समस्या भइरहेको छ । “स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य जाँचसमेत सम्भव छैन,” जेलर दाहालले भन्नुभयो ।
हाल कारागारमा १७ जना दीर्घरोगी कैदी छन्, जो नियमित रूपमा औषधी सेवन गर्दै आएका छन् । यिनीहरूको स्वास्थ्य जटिल हुँदा अन्य स्वास्थ्य संस्था वा अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको दाहालले जानकारी दिनुभयो ।