फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ४ गते। गएको चैत २६ गते अन्त्य भएको गण्डकी प्रदेशसभाको अर्काे अधिवेशन यही जेठ ११ गतेबाट सुरु हुने भएको छ। आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले ११ गते दिउँसो २ बजेदेखि सुरु हुने गरी बैठक आह्वान गर्नुभएको हो।
गण्डकी प्रदेश सरकारले बिहीबार बजेट अधिवेशन ११ गतेबाट बोलाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसपछि प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रमुख प्रमुख कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिनुभयो।
यो अधिवेशनमा सरकारको यो वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छन्। गण्डकी सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले जेठ १२ गते बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी भएको जानकारी दिनुभयो। आर्थिक मामिला मन्त्री डा. गुरुङले यो बजेट अधिवेशन नै भए पनि केही विधेयक पारित गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “यो बजेट अधिवशेन नै हो। सँगसँगै अहिले विषयगत समितिमा दफावार छलफल भइसकेका केही विधेयक पनि यो अधिवेशनबाट पारित हुने छन्।” हिउँदे अधिवेशनबाट विषयगत समितिमा पठाइएका १० विधेयक अहिले विभिन्न समितिमा छन्।