कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ ४ गते । सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ । सबै तह र स्तरका मानिसहरूको स-सानो पूँजीलाई एकिकृत गरेर लगानी गर्ने र यसको सहिढङ्गले व्यवस्थापन गर्न सके महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उहाँहरूको भनाइ छ ।
भिजन लुम्बिनीको दशौं वार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजित सामुहिक लगानी र समृद्धि विषयक अन्तर्क्रियामा बोल्ने अधिकांश वक्ताहरूले सामुहिक लगानीमा वैदेशिक पूँजी नभइ राष्ट्रिय पूँजीलाई महत्त्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले वि सं २०७२ सालबाट सुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको बताउनुभयो । उहाँले १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरकफरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादन समेत भैरहेको बताउनुभयो ।
पोखरेलले बुटवलबाट सुरु भएको भिजनले १६०० जना सेयर सदस्य रहेको र अहिले ऊर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सुचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडि बढीरहेको बताउनुभयो । पोखरेलले बोल्नेभन्दा पनि काम गरेर देखाउने अभियानमा लागेको बताउनुभयो । बुटवलबाट सुरूवात भएको अभियान देशैभर पुगेको बताउँदै ऊर्जामा गरेको लगानीले प्रतिफल दिन थालेको उल्लेख गर्नुभयो । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको बृहत् अवधारणा बनाइएको उहाँको भनाइ छ ।
कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसीले १० वर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरी देशैभर लगानीकर्ताहरूलाई जोडन सफल भएको बताउनुभयो । अब भिजन नेपालमा कम्तीमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरी सामुहिक भावनामा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलविद्युतमा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताउनुभयो ।
लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तर्क्रिया गरिएको सञ्चालक राजिव गौतमले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताउनुभयो । राप्रपा प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले बुटवलमा अथाह सम्भावना रहेको र सम्भावना चिनेको मान्छे पोखरेल भएको बताउनुभयो । एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी राष्ट्रिय पूँजीलाइ महत्त्व दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाई एक्स्ट्रा बजार बनाउन नयाँ सम्भावनाहरूको खोजी गरिरहनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीले देशभर नै राम्रो प्रभाव रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्राध्यापक डा. आरसी आचार्य, पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महेन्द्र भुसाल, भिजनका सन्तोष पोखरेल, रास्वपाका नगर सभापति राजन पाण्डे लगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाइ प्रतिफल दिएको बताएका थिए ।